१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

मुख्य खबर

सबै समुदायको भाषा राष्ट्रको सम्पति हो



पाँचथर÷ नेपालमा बसोबास गर्ने सबै समुदायको भाषा राष्ट्रको सम्पति भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विश्व मातृभाषा दिवशको अवशरमा मंगलबार फिदिममा आयोजित याक्थुङ प्रज्ञा प्रतिष्ठानको पहिलो वार्षिक उत्सव तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले मातृभाषा संरक्षणमा राज्यले अग्रसरता देखाउँनुपर्नेमा जोड दिए ।
कार्यक्रमको उद्घाटन गर्दै लिम्बू भाषा–साहित्य प्रतिष्ठानका अध्यक्ष येहाङ लाओतीले मातृभाषा संरक्षणका लागि संविधानले गरेको व्यवस्था अपूर्ण रहेको टिप्पणी गरे । संविधानले मातृभाषा संरक्षण गर्न शैक्षिक संस्था खोल्न सकिने भने पनि घुमाउँरो पाराले त्यसको कार्यान्वयन गर्ने कर्तव्यबाट भने राज्यले पन्छिने काम गरेको आरोप लगाए । कुनै पनि समुदायको मातृभाषा राज्यको ठूलो शक्ति र सम्पति भएको उल्लेख गर्दै लाओतीले भने– ‘त्यसैले कुनै पनि भाषाको संरक्षणको सवाल उठाउँदा साम्प्रदायीक बिल्ला भिराउँनु मूर्खता शिवाय केही हुन सक्दैन ।’
कार्यक्रममा बोल्ने कवि तथा आख्यानकार अमर नेम्बाङ, लिम्बू भाषा–साहित्यका अभियन्ता मलिशा याक्थुङ्बा, चलचित्र विकास बोर्ड अन्तर्गतको मातृभाषि चलचित्र प्रबद्र्धन समितिका सदस्य देउमान केरुङ, साहित्यकार नरेन्द्र कुमार केरुङ, फिदिम उमाविका प्रधानाध्यापक दुर्गाराज खत्री, नेपाल पत्रकार महासंघका पाँचथरका सदस्य भीम बाँस्कोटा, फोनिज पाँचथरका अध्यक्ष गणेश साम्पाङ लगायतले पनि सबै समुदायको भाषा राष्ट्रको सम्पति भएकोमा जोड दिए । सबैभन्दा धेरै नीजि पहलमा भइरहेको मातृभाषा संरक्षणको अभियानमा राज्यले लगानि बढाउँनुपर्ने उनीहरुको भनाई थियो ।
सदरमुकामस्थित तमोरभ्याली गेष्ट हाउसको चुम्देन हलमा भएको कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठानको स्मारिका ‘साङ्दाङ्वा’ (डाँफे चरी) र अर्धवार्षिक साहित्यिक प्रकाशन ‘काराङ्वा’ (क¥याङ्कुरुङ्) को समेत बिमोचन गरियो । कार्यक्रममा केलाङ् साँस्कृतिक समाजको केलाङ् (च्याब्रुङ नाँच) प्रस्तुती, पालाम् गायक काजिमान मावोको पालाम् सँगै सागर केरुङ, विवश माङ्मु, बजिन लाओती लगायतका स्रष्टाहरुले लिम्बू साहित्य वाचन गरेका थिए ।
त्यस्तै भाषावीद हरि चन्द्र लाओतीले तयार पारेको ‘लिम्बू भाषाको क्षेत्रमा लगानीको अनुपातमा प्रभाव घट्नुको कारण’ र पुष्कर कडेंलले तयार पारेको ‘भाषा विकास केन्द्र सम्बन्धि’ को दुई छुट्टाछुट्टै कार्यपत्र प्रस्तुती सँगै कार्यपत्र उपर छलफल समेत भएको प्रतिष्ठानका प्राज्ञ सदस्य भवानी तावाले जनाए । पहिलो कार्यपत्रको लिम्बू भाषा उच्च मावि शिक्षक डिक लाओती र पाँचथर बहुमुखि क्याम्पसका प्राध्यापक खड्नारायण आङदेम्बे त्यस्तै दोस्रो कार्यपत्रको साम्जिरी शेर्मा र सेसेमी से–नाल्बोले टिप्पणी गरेका थिए ।
प्रतिष्ठानको साधारणसभा तथा अधिवेशनको बन्द शत्रले नयाँ कार्य समितिको समेत चयन गर्ने बताइएको छ । गत वर्षको फागुन ७, ८ र ९ गते फिदिममा सम्पन्न लिम्बूभाषी साहित्यकारहरुको भेलाले लिम्बू भाषा–साहित्यको विकासको लागि भन्दै प्रतिष्ठान स्थापना गरेको हो । जुन भेलाले भावुकता र अस्पष्टतापूर्ण लेखनबाट छुट्कारा नलिइ लिम्बू साहित्य प्राज्ञिक स्तरसम्म पुग्न नसक्ने निष्कर्ष निकाल्दै विश्व साहित्यमा देखिएका स्थापित वाद र सिद्धान्तहरुलाई आधार मानेर सचेततापूर्ण लेखन गर्ने उद्घोष स्वरुप आठ बुँदे सुम्जिरी सुम्हा?लुङ घोषणा–पत्र जारी गरेको थियो ।
श्रीहाङ्मा साहित्यिक पुरस्कार वितरण
कार्यक्रममा श्रीहाङ्मा साहित्यिक पुरस्कार समेत वितरण गरिएको छ । उक्त पुरस्कार शनिअर्जुन झापाका नर बहादुर योङहाङ (नवल फाइवाली) र तेह्रथुम जलजलेमा जन्मि हाल शिवसताक्षि न.पा. झापामा स्थाई बसोबास गर्दै आएका हरि चोङ्बाङलाई प्रदान गरिएको छ । हरेक वर्ष विश्व मातृभाषा दिवशको दिन दुई जना लिम्बूभाषी साहित्यकारलाई प्रदान गरिने उक्त पुरस्कारबाट पहिलोपल्ट योङहाङ र चोङबाङ पुरस्कृत भएका हुन् । साहित्यकार द्धयलाई कार्यक्रमका प्रमुख अतिथि येहाङ लाओतीले सम्मान–पत्र र पुरस्कार संस्थापक अमर नेम्बाङले नगद पुरस्कार वितरण गरेका थिए । पाँचथर पौवासारताप निबासी कवि तथा आख्यानकार अमर नेम्बाङ लगायत परिवारले आमा स्व.श्रीहाङ्मा (थाम्सुहाङ) नेम्बाङको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशी जनही दश–दश हजार रहेको छ ।

प्रकाशित : ११ फाल्गुन २०७३, बुधबार ००:००