१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

खेलकुद

फाल्गुनन्द गोल्डकपको आठौं संस्करण पुष ८ देखि

पुरस्कार राशी र सहभागि टिम वृद्धि गरिने



press-meet
तस्विर : सन्देश

पाँचथर: जिल्लाकै सर्वाधिक लोकप्रिय फाल्गुनन्द गोल्डकपको आठौं संस्करण आगमी पुष ८ देखि १७ गतेसम्म हुने भएको छ । मंगलबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा यसपल्ट पुरस्कार राशीसँगै सहभागि टिम संख्या समेत वृद्धि गरिने आयोजक फिदिम स्पोर्टिङ क्लवले जनाएको छ ।
विगतका संस्करणमा विजेता र उपविजेताको पुरस्कार राशी १ लाख ११ हजार र ५५ हजार ५ सय ५५ राखिएको थियो । यसलल्टदेखि भने बढाएर विजेतालाई २ लाख ५० हजार र उप विजेतालाई १ लाख ५० हजार बनाइने क्लवका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । त्यस्तै यसपल्ट दर्शकको लागि बासको प्याराफिट समेत निर्माण गरिने बताइएको छ । ४ हजार दर्शक अँटाउँने प्याराफिट बनाउँने तयारी भइरहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
प्रतियोगिताको पहिलो संस्करण देखि ८ टिमलाई सहभागि गराउँदै आएको आयोजकले यसपल्ट १० टिमलाई सहभागि गराउँने भएको छ । यसपल्ट उपाधीका लागि आयोजक फिदिम स्पोर्टिङ क्लवसँगै ताप्लेजुङ ११, माइभ्याली स्पोर्टिङ क्वल इलाम, झापा ११ र मोरङ ११ ले प्रतिश्पर्धा गर्नेछन् ।
त्यस्तै सुनसारी ११, चर्च ब्वाइज युनियन क्लव काठमाण्डौं, भारतको कञ्चनजंघा युनाइटेड क्लव सिलिगुढी, सिक्किम ११ र फ्यान्स बिआरसी क्लव भूटानले पनि प्रतियोगितामा सहभागिता जनाउँने फिदिम स्पोर्टिङ क्लवका महासचिव पाशाङ तामाङले जानकारी दिए ।
पाँचथर सदरमुकाम फिदिम स्थित फिदिम उच्च माविको खेलमैदानमा हुने प्रतियोगिताको लागि २८ लाख ४३ हजार खर्च हुने अनुमान गरिएको छ । १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मान र सम्झनामा ९ वर्ष अघिदेखि फाल्गुनन्द गोल्डकप आयोजना हुँदै आएको छ ।

प्रकाशित : १ मंसिर २०७३, बुधबार ००:००