६ बैशाख २०८१, बिहिबार । April 18, 2024

Breaking

लुम्बिनीमा गुरुयोजना विपरीत संरचना बन्न नदिने कोषको निर्णय



काठमाडौं । लुम्बिनी विकास कोषले गुरुयोजनामा उल्लेख भएअनुसार बाहेकका संरचना गुरुयोजना क्षेत्रभित्र निर्माण गर्न नदिने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिवार बसेको कोषको बैठकले व्यावसायिक तथा व्यक्तिगत स्वार्थ पूर्ति हुने कुनै संरचना गुरुयोजना क्षेत्रभित्र बन्न नदिने सैद्धान्तिक निर्णय गरेको हो ।

बौद्धमार्गीको आस्थाको धरोहर लुम्बिनीको महत्त्वपूर्ण जग्गा व्यक्तिगत तथा व्यावसायिक स्वार्थ पूर्तिका लागि प्रयोग नहोस् भनेर यस्तो निर्णय गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

विहार, मन्दिर, गुम्बा र चैत्य निर्माण हुने जग्गामा निर्धारित समयमा सम्पन्न नहुनुका कारण खोजी छिटो सम्पन्न गर्ने वा जग्गा फिर्ता गर्ने गरी नियमित गरिनेछ । सन् १९७८ मा जापनिज वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजना अन्तिम चरणमा छ । गुरुयोजनाको कामका अतिरिक्त लुम्बिनी र आसपासका बौद्धस्थल समेटेर ‘ग्रेटर लुम्बिनी’को अवधारणा पनि अगाडि बढाइएको छ । लुम्बिनी गुरुयोजना उत्तर–दक्षिण पाँच वर्ग माइल क्षेत्रमा फैलिएको छ । जसमा पुरातात्विक क्षेत्र पवित्र उद्यान, अन्तर्राष्ट्रिय बौद्ध बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँ गरी तीन क्षेत्रमा बिभाजन गरिएको छ ।

मुलुककै पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजना विपरित काम गर्न नहुने मन्त्री श्रेष्ठले बताउनुभयो । कोषले यसअघि लुम्वीनी गुरुयोजनाभित्रको जग्गालाई कानुन विपरित भाडामा दिन भएका निर्णय खारेज गरिदिएको थियो ।

प्रकाशित : ९ पुस २०७९, शनिबार ००:००