१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Breaking

किरात सिरिजङ्गा देशकै निधि हुन् प्रदेश प्रमुख खापुङ



उर्लाबारी, मोरङ । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले किरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको बताउनु भएको छ । किरात याक्थुङ चुम्लुङ, संघीय समितिद्वारा आयोजित सिरिजङ्गा सिङथेवेको ३१८औं जन्मजयन्ति तथा उदयकला पुरस्कार वितरण कार्यक्रम, उर्लाबारी ९ मोरङमा प्रदेश प्रमुख खापुङले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा प्रदेश प्रमुख खापुङले नेपालको संविधानले नै बहुभाषिक, बहुधार्मिक, बहुजातीलाई आत्मसात गरेको कुरा अवगत गराउँदै चुम्लुङलगायतका संस्थाले गरिरहेको कामको प्रंशंसा गनुभएको थियो । सिरिजङ्गाले किरात सिरिजङ्गा लिपिको विकास गरेको हुनाले उनी लिम्बू जातिको मात्र नभएर देशकै निधि हुनुपर्ने प्रदेश प्रमुखको जोड थियो ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर गंगा खरेलले संवैधानिक जटिलता नआएको खण्डमा तथा कानुनले दिएसम्म भाषालाई पढाउन पहल गरिने बताउनुभएको छ । अहिले नगरपालिकाले नयाँ पाठ्यक्रम बनाउँदै गरेको जानकारी गराउँदै त्यहाँ मिल्नेसम्म जाति, भाषा, धर्मका कुरा समावेश गराउने मेयरको भनाई थियो ।

चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले अहिलेसम्म शालिन भाषा प्रयोग गर्दै भाषा, संस्कृतिको उत्थानका आवाज उठिरहेको बताउनुभएको थियो । तर यसपाल, आघौं, पराघौं पनि आवाज उठाउनुपर्ने भएमा शालिनतालाई बिर्सने चेतावनी दिनु भयो ।

कार्यक्रममा साहित्यकार मलिसा याक्थुङ्बालाई कियाचु किरात सिरिजङ्गा पुरस्कार २०७९ प्रदान गएिको थियो । उहाँले २५हजार नगद पुरस्कार पाउनु भएको छ । कलाकार तथा लिम्बू भाषाको प्रथम नायिका, निमात्री शोभा खजुमलाई कियाचु उदयकला १० हजर राशीको पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित : २५ मंसिर २०७९, आइतबार ००:००