१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Breaking

राजकुमार भण्डारी : अविराम राजनीतिक योद्धा



नेकपा (एमाले)बाट पाँचथर प्रदेश सभा क्षेत्र नं. क का उम्मेदवार राजकुमार भण्डारी साढे तीन दशकदेखि निरन्तर राजनीतिमा क्रियाशील ब्यक्तित्व हुनुहुन्छ । २०७८ पुष २५ सम्पन्न नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष निर्वाचित भण्डारी दुई दशकदेखि निरन्तर जिल्लाको राजनीतिमा निर्णायक भूमिकामा रहनुभएको छ ।

वि.सं. २०१८ साल असोज ८ बुवा रबीलाल भण्डारी तथा आमा डिकमाया भण्डारीको जेष्ठ सुपुत्रका रुपमा हाल फिदिम नगरपालिका–५ पर्ने साविक चोकमागू गाविस वडा नं. १ मा जन्मनुभएका भण्डारीले शीवधर प्रा.वि. चोकमागू र पिपलबोटे माध्यमिक विद्यालय नांगीनमा प्राथमिक र निम्न माध्यमिक तहको अध्ययन गरी फिदिम माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गर्नुभएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामबाट प्रविणता प्रमाणपत्र तह उत्तिर्ण भण्डारी वि.सं. २०३६ सालको आन्दोलन र जनमत सङ्ग्रहपछि राजनीतिमा क्रियाशील हुन थाल्नुभएको हो ।

२०३६ सालको आन्दोलनले पञ्चायत विरोधी भावना जागृत गराएपछि उहाँ कम्युनिष्ट आन्दोलनतर्फ आकर्षित हुनुभयो । यस क्रममा उहाँले वि.सं. २०३८ फागुन पार्टी सम्पर्क प्राप्त गर्नुभयो । पूर्वी नेपालमा स्थापित संगठक देवराज घिमिरेमार्फत कम्युनिष्ट आन्दोलनमा जोडिनुभएका भण्डारी सोही साल क्रान्तिकारी वुद्धिजिबी संघ आवद्ध हुनुभयो ।

वि.सं. २०४० सालमा कम्युनिष्ट पार्टीको भिलेज एक्टिभ ग्रूप चोकमागूको सदस्य र ०४१ सालमा सो ग्रूपको सचिव बनेर संगठन विस्तारमा सक्रिय भण्डारी ०४२ जेठ १५ गते पक्राउ पर्नुभयो । सोही सालको पुष महिनासम्म झापा कारागारमा राजबन्दीका रुपमा उहाँ थुनामा पर्नुभयो । भण्डारी पाँचथरबाट जेल पर्ने सम्भवत पहिलो नेता समेत हुनुहुन्थ्यो ।

जेल परेपछि पार्टी सम्पर्कबाट विच्छेद हुनुभएका उहाँ वि.सं. २०४५ सालमा पुनः पार्टी सम्पर्कमा पुग्नुभयो । यसपछि एरिया पार्टी एक्टिभ ग्रूपको सदस्य बन्नुभएका भण्डारीले वि.सं. ०४७ मंसिरमा नेकपा (एमाले)को पार्टी संगठित सदस्यता प्राप्त गर्नुभएको थियो ।
वि.सं. २०४८ साल माघदेखि जिल्ला कमिटीको सदस्य बन्नुभएका भण्डारी ०५० चैतदेखि २०६४ सालसम्म कार्यालय सचिवको जिम्मेवारीमा रहनुभयो । नेकपा (एमाले)को जिल्ला र गाउँ तहमा सचिव प्रणाली रहेको सो समय उहाँ २०६५ सालदेखि ०६६ सालसम्म जिल्ला कमिटी उपसचिव रहनुभयो । पार्टी बहुपदीय प्रणालीमा गएपछि वि.सं. २०६६ फागुनदेखि ०६९ जेठ उपाध्यक्ष जिल्ला कमिटीको उपाध्यक्ष बन्नुभएका भण्डारी ०६९ जेठदेखि कार्यबाहक अध्यक्ष बन्नुभयो ।

वि.सं. २०७१ फागुनमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएका भण्डारी २०७५ मा नेकपा (एमाले) र माओवादी केन्द्रवीच एकता भएपछि ०७५ भदौदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरको अध्यक्ष र प्रदेश कमिटीको सदस्य बन्नुभयो । यस्तै २०७७ पुषदेखि नेकपाको केन्द्रीय सदस्य मनोनित उहाँ एमाले र माओवादीको एकता भङ्ग भएपछि पुनः अध्यक्षको जिम्मेवारीमा रहँदै २०७८ पुष २५ मा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभयो ।
वि.सं. २०३९ मंसिरदेखि शिक्षण पेशामा समेत आवद्ध हुनुभएका भण्डारी थुनामा परेपछि शिक्षण पेशाबाट बर्खास्तीमा पर्नुभएको थियो । २०४७ भदौमा शिक्षण पेशामा पुनर्बहाली भई कार्य गर्न थाल्नुभएका उहाँ वि.सं. २०४९ मा साविक गाविस अध्यक्ष पदको उमेदवार हुन शिक्षण पेशाबाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा क्रियाशील हुनुभयो । वि.सं. ०७४ स्थानीय निर्वाचनमा फिदिम नगर प्रमुखको उम्मेदवार समेत बन्नुभएका भण्डारी हालसम्म कुनै पनि लाभको पदमा नरहने एक पूर्णकालीन राजनीतिक एवम् सामाजिक कार्यकर्ताका रुपमा जिल्लामा सुपरिचित हुनुहुन्छ ।

जिल्लाका ६० वटै वडाका अधिकांश गाउँ टोलमा संगठन निर्माण, विकास निर्माण तथा सामाजिक कार्यका शिलशिलामा पुगेर जनतामाँझ साक्षात्कार गरेको वताउनुहुने भण्डारी अहिले एमालेबाट पाँचथर प्रदेश सभा क्षेत्र नं. क मा उम्मेदवार बन्नुभएको छ । भारत र चीन भ्रमणको भ्रमण गर्नुभएका भण्डारी केही समय पाँचथरबाट प्रकाशित चिन्तन साप्ताहिकमा आवद्ध समेत हुनुभएका थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी रहनुभएको छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार ००:००