१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

Breaking

कम्युनिस्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्छ भनेर देखाउने मनमोहन



मनमोहन अधिकारीको नाम लिनासाथ आम मानिसको दिमागमा सरलता, इमान र निष्ठाको एउटा बेग्लै बिम्ब निर्माण हुन्छ । राजनीतिज्ञ कस्तो हुनुपर्छ र उसको जीवन कसरी बित्नुपर्छ भन्ने उदाहरण खोज्दा मनमोहन अधिकारी समकालीन राजनीतिको एउटा ‘रोल मोडल’का रुपमा स्थापित हुनुहुन्छ ।

नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्रीका रुपमा नौ महिना नेकपा (एमाले) को सरकारको नेतृत्व गर्दा मनमोहन अधिकारीले आर्जन गरेको प्रतिष्ठा आज पनि गौरवको विषय छ । जनमुखी र लोकप्रिय सरकार कस्तो हुन्छ भनेर आज पनि कसैलाई सोधियो भने सहजै उत्तर आउँछ– मनमोहन अधिकारीको जस्तो । लचकता र इमानको समन्वय, सामूहिक नेतृत्वमा विश्वास, आफूभन्दा पछिका नेताहरुमाथिको भरोसा र कुनै गलत काम गर्दिनँ भन्ने अठोटले मनमोहन अधिकारीलाई एउटा सानो समूहको नेताबाट नेकपा (एमाले) जस्तो विशाल पार्टीको अध्यक्ष, मुलुकको पहिलो कम्युनिस्ट प्रधानमन्त्री र सिंगो नेपाली समाजको सम्मानित नेता बनाएको थियो ।

बिक्रम संबत १९७८ असार १५ गते काठमाडौंको लाजिम्पाटमा पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारीका जेष्ठ पुत्रका रुपमा जन्मिनुभएका मनमोहन अधिकारीेले भारतीय स्वतन्त्रता संग्रामबाट आफ्नो राजनीतिक जीवन आरम्भ गर्नुभएको थियो । भारतबाट अंग्रेजी साम्राज्य हटाउन सन् १९४२ मा भएको ‘भारत छोडो’ आन्दोलनमा सहभागी भएर डेढ बर्ष जेल परेर पर्नुभएका मनमोहन अधिकारी भारतीय स्वतन्त्रता संग्राममा योगदान गर्ने सीमित नेपाली नेताहरुमध्ये एक हुनुहुन्थ्यो ।

विक्रम सम्बत् २००३ साल फागुन २१ बाट शुरु भएको बिराटनगरको मजदुर आन्दोलनको नेतृत्व गर्दै नेपाली राजनीतिमा क्रियाशील रहनुभएका अधिकारी नेपाल कम्युनिस्ट पार्टीभन्दा पनि जेठो कम्युनिस्ट हुनुहुन्थ्यो । किनकि, उहाँले भारतमा रहँदा नै त्यहीँको कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरिसक्नुभएको थियो । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना हुँदा संलग्न हुन नपाए पनि उहाँ २०१० सालमा आयोजित नेकपाको प्रथम राष्ट्रिय महाधिबेशनबाट महासचिवमा निर्वाचित हुनुभएको थियो ।

स्वदेश तथा विदेशमा गरी १४ बर्ष जेल जीवन बिताउनुभएका मनमोहन अधिकारीले लामो समय नेकपा (माक्र्सवादी) मार्फत् पञ्चायतविरोधी संघर्षमा नेतृत्व गनुभएको थियो । २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीचको एकताबाट बनेको नेकपा (एमाले) को अध्यक्ष बन्नुभएका पूर्व प्रधानमन्त्री अधिकारी त्यसउप्रान्त लगातार एमाले अध्यक्ष रहिरहनुभयो ।

नौ महिना नेकपा (एमाले) को सरकारको नेतृत्व गर्दा मनमोहन अधिकारीले देखाएको इमान, नेतृत्व र निष्ठा सबैका लागि अनुकरणीय छ । त्यही सरकारले अघि सारेका लोकप्रिय कार्यक्रमहरुले कम्युनिस्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्छ भन्ने उदाहरणीय प्रस्तुती त भयो भयो, साथै जनताले तिरेको करबाट कसरी जनता कै घरदैलोमा विकासको लहर सिर्जना गर्न सकिन्छ भन्ने दृष्टान्त पनि स्थापित हुनपुग्यो । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, ‘नौ स’को अभियान, जेष्ठ नागरिकका लागि बृद्ध भत्ता जस्ता आजसम्म कसैले चुनौती दिन नसकेको कार्यक्रमहरुले नेकपा (एमाले) लाई अझ मजबुत र लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

मनमोहन अधिकारी नै त्यस्तो प्रधानमन्त्री हुनुहुन्छ, जसले प्रधानमन्त्रीका रुपमा इतिहासमा पहिलोपटक भारतसँग सन् १९५० को असमान सन्धि पुनराबलोकनका लागि औपचारिक प्रस्ताव गनुभएको थियो । राष्ट्रियताको पहरेदार नेकपा (एमाले) को यही राष्ट्रवादी अडानकै निरन्तता स्वरुप अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपालले आफ्नो भूमिमा दाबी गरेर कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा जारी गरेको छ ।

मनमोहन अधिकारीको सिंगो जीवन नयाँ पुस्ताका लागि अनिवार्य रुपमा पढ्नै पर्ने खुल्ला किताब जस्तै छ । आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता कसैले किस्तीमा हालेर दिएको होइन । मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरुमा रहेको उन्नतस्तरको चेतना, त्याग र अठोटले नै आज हामीले खुल्ला वातावरण पाएका छौँ, स्वतन्त्रता पाएका छौँ । इतिहासका धरोहर मनमोहन अधिकारी हाम्रा लागि सधैँ प्रातःस्मरणीय हुनुहुन्छ र रहिरहनुहुनेछ ।

साभार : cpnuml.org

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार ००:००