७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

Breaking

वित्तीय साक्षरता अभियान चलाउँदै आस्मा



 

काठमाडौं । आस्मा ढुंगाना वित्तीय क्षेत्रका युवा अनुसन्धानकर्ता एवं वित्तीय साक्षरता अभियन्ता हुन् । अहिले उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा आवद्ध भएर नेपालका वित्तीय नीतिहरुमाथि अनुसन्धान गरिरहेकी छिन् ।

 

विश्वव्यापीकरणका कारण बदलिँदो विश्व अर्थ व्यवस्थाप्रति आस्मालाई गहिरो चासो छ । ग्लोबल अर्थव्यवस्थाका नयाँनयाँ आयमहरुप्रतिको ज्ञानको भोकले नै उनलाई बेलायतकोनाटिंघम बिजनेस स्कुलसम्म डोहोर्‍यायो । त्यहीँबाट उनले उच्चशिक्षा पूरा गरिन् । उनले त्यहाँ खाली उच्च शिक्षाको प्रमाणपत्र मात्र ग्रहण गरिनन्, ग्लोबल कनेक्सन बनाइन् । वित्तीय क्षेत्रका विश्वका दिग्गजहरुसँग नजिकबाट संगत गरिन्, व्यवहारिक ज्ञान पाइन् । वित्तीय क्षेत्रप्रतिको अभिरुची झनै फराकिलो भयो । ज्ञानको क्षितिज झनै फैलियो । उनी तिखर बन्दै गइन् ।

 

उनले बाल्यकालमै नेपालका विभिन्न ठाउँ घुम्ने अवसर पाइन् । बुवा बैंकमा जागिरे भएकाले बुवा जहाँजहाँ जानुहुन्थ्यो उनी पनि त्यहीँत्यहीँ पुगिन् । प्रारम्भिक शिक्षा नेपालको पूर्वी शहर इटहरीमा भयो । त्यसपछि उनले नेपालको व्यापारिक शहर विरगञ्ज बसेर पढिन् । स्नातकतह काठमाडौं विश्वविद्यालयबाट सकेपछि छात्रवृत्ति पाएर बेलायतको नाटिंघम बिजनेस स्कुलको यात्रा तय गरिन् ।

 

उनको खास अध्ययनको क्षेत्र वित्तीय नीति अनुसन्धान हो । बेलायतको अध्ययनपछि नेपाल फर्किएर उनी तीनै काममा लागि परिन् । उनको एउटै ध्येय छ वर्तमान नीतिगत व्यवस्थाहरुको मिहिन समीक्षा गर्दै कसरी राम्रो भन्दा राम्रो वित्तीय नीतिहरु बनाउन सकिन्छ, जसका कारण नेपालका सबै जनताहरुलाई वित्तीय समावेशीकरण र वित्तीय स्वतन्त्रता प्रदान गर्न सकियोस् ।

 

विद्यालय, विश्वविद्यालयको अध्ययन र आफ्नै विभिन्न अनुसन्धानहरुबाट उनी एउटा निष्कर्षमा पुगिन्–‘नेपाल जस्तो तेस्रो विश्वका मुलुकमा राम्रो नीतिगत व्यवस्था मात्र पर्याप्त हुन्न रहेछ ।’ कुल जनसंख्याको ४५।४ प्रतिशत मात्र बैंक खाताको पहुँच, त्यसमा पनि हरेक १४ जनाको खाता खोलिँदा ४ जना मात्र महिला समेटिनुले वित्तीय साक्षरता अवस्था अत्यन्तै दयनीय भएको देखाउँछ । त्यसमा पनि पितृसतात्मक सोचको ठूलो प्रभाव देखिन्छ । सम्पती सम्बन्ध र स्रोतसाधानमा नेपाली महिलाहरुको पहुँच स्थापित भएको छैन भन्ने देखाउँछ । यस्तो तस्बिरको अगाडि खाली नीतिगत डिसकोर्स गरेर हुन्न, आधारभूत तहमै वित्तीय साक्षरता अभियान चलाउनु पर्छ भन्ने उनमा सोच आयो ।

 

त्यही सोचले जन्मायो ‘अर्थमासक्षम’ । ‘अर्थमासक्षम’ गैरनाफामुलक कम्पनी हो । यही संस्थाबाट वित्तीय क्षेत्रको अध्ययन अनुसन्धान र ग्रामिण भेगसम्म वित्तीय साक्षरता अभियान चलाउन शुरु भएको छ । संस्थालाई अगाडि बढाउन सजिलो होस् भनेर उनले विभिन्न क्षेत्रमा स्थापित व्यत्तित्वहरुलाई बोर्डमा आवद्ध गराएकी छन् । आफ्नो सोच भएकाले नेतृत्व पनि आफैं गरिरहेकी छन् । अनुसन्धानसँगै अब थपिएको छ अभियान ।

 

संस्थाको सुरुवाती स्रोत व्यवस्थापन आफैं गरिरहेकी छिन्, उनले । उनी केडिया अर्गनाइजेसनको मार्केट रिर्सचर पनि हुन् । उनले केहीअन्तर्राष्ट्रिय एजेन्सीहरुमा पनि रिसर्चको काम गरिरहेकी छन् । त्यहाँबाट आउने पैशा संस्थामा लगानी गर्छिन् । संस्थाको कामलाई थप विस्तार गर्न थप स्रोतको आवश्यक पर्ने भएकाले केही प्रोजेक्टहरु डिजाइन भइरहेको र केही पाइपलाइनमा भएको उनी बताउँछिन् ।

 

अक्सर युवाहरु झट्ट आकर्षित नहुने क्षेत्र हो नीतिगत अध्ययन अनुसन्धान । त्यसमा पनि वित्तीय नीति अनुसन्धान । त्यसको अपवाद जस्तै भइन् आस्मा । उनलाई सानैदेखि यस क्षेत्रमा रुची थियो । बुवा बैंकर्स भएकाले पनि यस्तो अभिरुची जागेको थियो ।

 

प्रायः युवाहरु आकर्षित हुने क्षेत्र हो मनोरञ्जनात्मक र ग्लामर्स । उनी पनि यस क्षेत्रसँग राम्रै घुलमिल भने नएकी होइनन् । उनी वीरगञ्जमा पढ्दा रेडियो प्रस्तोता बनिन् । आफू जस्तै बालबालिकाहरुका लागि रेडियो कार्यक्रम चलाउँथिन् । रेडियोमा कथा, कविता र प्रेरक प्रसंगहरु सुनाउँथिन् । पछि काठमाडौं आएर टेलिभिजन प्रस्तोताको रुपमा पनि काम गरिन् । त्यतिबेलै थाहा पाइन्, रंगिन दुनियाँको नेपथ्यमा लुकेको खैरो रंग । करियर बनाउने एउटा क्षेत्र भएपनि आधारभूत तहका मानिसहरुलाई ती क्षेत्रबाट योगदान र सेवा पु¥याउन नसकिने भएपछि पूर्णरुपमा वित्तीय क्षेत्रमै अध्ययनको दायरालाई बढाउँदै लागिन्, उनले ।

 

उनको स्वयंसेवाप्रति पनि उतिकै रुची छ । २०७२ को महाभूकम्पमा रेडक्रसको केन्द्रीय कार्यालयमा रहेर पीडितहरुको सेवामा खटिइन् । केही बाहिरी जिल्लाहरु पनि पुगिन् । अमेरिकी दूतावास र नेपाल राष्ट्र बैंक तथा बेलायतको प्रतिष्ठित संस्थाहरुमा समेत इन्टर्नशीप गरेको अनुभव समेत उनीसँग छ । आफुले आर्जन गरेको ज्ञान र ती संस्थारुबाट बटुलेको अनुभव आफ्नो बाँकी यात्राको खजना हुने उनको बुझाइ छ ।

 

दिनानुदिन उनी पूर्णरुपमै वित्तीय अनुसन्धान र वित्तीय साक्षरता अभियानमै फोकस हुँदै गएकी छिन् । उनको जोड नीतिगत परिवर्तनमै छ । नीति निर्माण गर्ने ठाउँमा रहेकाहरुले राम्रो सुजबुझका साथ नीति निर्माण गरे तल्लोतहका मानिसहरुले लाभ उठाउन सक्ने उनको बुझाइ छ ।

 

उनी युवाहरुलाई व्यत्तिगतरुपमा समेत वित्तीय व्यवस्थापन राम्रो गर्नुपर्ने सुभाव दिन्छिन् । राम्रो वित्तीय व्यवस्थापनले मात्र वित्तीय स्वतन्त्रता प्राप्त हुने उनको बुझाइ छ ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार ००:००