३० फाल्गुन २०८०, बुधबार । March 14, 2024

Breaking

फिल्म ‘मीरा’ शुभमुहुर्त



चलचित्रकर्मी रोशन कुमारको निर्देशनमा नयाँ नेपाली फिल्म ‘मीरा’ निर्माण हुने भएको छ । उक्त फिल्मको मंगलबार काठमाडौंको गुहेश्वरी मन्दिर परीसरमा शुभमुहुर्त गरिएको छ ।

सरकारले निर्धारण गरेको २५ जना भन्दा बढी मानिस भेला नहुने मापदण्डलाई पालना गर्दै शुभमुहुर्त कार्यक्रम आयोजना गरिएको फिल्म निर्माण संस्थाको भनाइ छ ।

द लाइफ एक्सप्रेस मुभि मेकर्स प्रालि तथा मझारे ईन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्ने उक्त फिल्म शुभमुहुर्त समारोहमा फिल्मका मुख्य कलाकार रमेश क्षेत्री तथा रजिना अर्यालले मुहुर्त शटमा अभिनय गरेका थिए ।

चलचित्रकर्मी कृष्ण मल्लद्वारा निर्देशन गरिएको मुहुर्त शटमा फिल्मका मुख्य कलाकारले फिल्मकै संवाद बोलेका थिए ।

मुहुर्त शटमा द्वन्द निर्देशक संघका अध्यक्ष नारायण प्रधानले क्यामराको स्विच अन गरेका थिए भने चलचित्रकर्मी राजेश बिसुरालले क्ल्याप गरेका थिए । लेखक सुशिल देवकोटाले नरिवल फुटाएर शुभसाइत शटको थालनी गराएका थिए । त्यसअघि चलचित्रकर्मी सुनिल कटवालले क्यामराको पूजा गरेका थिए ।

समारोहमा प्रसारणको क्रममा रहेको टेलिश्रृंखला ‘ब्ल्याक एण्ड ह्वाइ’ को टिमलाई नै मुख्य अतिथि बनाइएको थियो ।

समारोहलाई सम्बोधन गर्दै फिल्मका निर्देशक रोशन कुमारले मीरा नारी प्रधान फिल्म हुने जानकारी दिँदै फिल्मले बलात्कार जस्तो निन्दनीय घटनालाई हतात्साहित गर्ने कथावस्तु समेटिएको जानकारी गराए ।

फिल्ममा रजिना अर्यालले मीराको चरित्र चित्रण गर्दैछिन् । उनको यो डेब्यू फिल्म हो ।

फिल्मकी मुख्य पात्र मीरा अर्थात रजिना अर्याल तथा रविना केसीलाई सृजना सुत्रले फिल्मका लागि काष्ट गरेको सृजना सुत्रका सुभाष प्रधानले जानकारी गराएका छन् ।

फिल्मका अभिनेता रमेश क्षेत्रीले फिल्मले एउटी कमजोरी आर्थिक अवस्था भएकी महिलाको सरकारी जागिर खाने सपना र त्यसलाई पुरा गर्ने क्रममा उनले भोग्नु परेका पीडालाई फिल्मले समेट्ने तथा आफूलाई उनलाई हरेक प्रकारले सहयो गर्ने भूमिका निर्वाह गरेको बताए ।

फिल्ममा रजिना अर्याल र रमेश क्षेत्रीसंगै प्रेम बस्याल, रविना केसी, महेश धामी क्षेत्री आदि कलाकारले अभिनय गर्दैछन् ।

गोपाल कार्की तथा आरोही श्रेष्ठ यो फिल्मका निर्माता हुन् । यो फिल्मको कथा प्रेम बस्यालले लेखेका हुन् ।

समारोहमा फिल्मको पोस्टर समेत अनावरण गरिएको थियो ।

स्वास्थ्य मापदण्ड पालना गर्दै केही दिनमै फ्लोरमा जाने यो फिल्म यही नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा ल्याइने निर्देशक रोशन कुमारले जानकारी दिएका छन् ।

समारोहमा कृष्ण मल्ल, राजेश बिसुराल, नारायण प्रधान, सुनिल कटवाल, सुशील देवकोटासहितका व्यक्तित्वले विषय परिस्थितिमा निर्माण हुन लागेको फिल्मको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

सौन्दर्य क्रियसन, चौबन्दी क्रियसन तथा अदिती कलेक्सनको भेषभुषा रहने यो फिल्ममा श्रद्धा कँडेलको श्रृङ्गार रहने छ । बिपुल क्षेत्री यो फिल्मका प्रोडक्सन मेनेजर हुन् ।

फिल्ममा अमृत पाण्डेको सिनेमाटोग्राफी रहने छ भने सह निर्देशनमा समीर ढकाल छन् । साथै अन्य कलाकारमा राजु श्रेष्ठ , सञ्जय ढुंगाना, उन्नत उप्रेती, मन्जिल श्रेष्ठ, प्रमिला बिक, प्रज्वल गिरीसहित ब्ल्याक यन्ड व्हाइट सिरियलका चर्चित कलाकारहरु पनि रहने छन् ।

फिल्ममा अधिकमां कलाकार थिएटरका रहने ‘मीरा’ मा जे.बी.रुवाली, दिनेशजंग खड्का जस्ता पुराना रङकर्मीहरुले अभिनयको वर्कशप गराउने जानकारी निर्माण संस्थाले दिएको छ ।

प्रकाशित : ५ माघ २०७८, बुधबार ००:००