१० चैत्र २०८०, शनिबार । March 24, 2024

समाचार

समाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाप्रति कांग्रेस प्रवक्ता शर्माको आपत्ती



काठमाडौं। ‘सामाजिक सञ्जाल व्यवस्थापन’ को नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न लागेको कांग्रेसले जनाएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै त्यसप्रति गम्भीर आपत्ती प्रकट गरेका छन्।

उनले भनेका छन्, “सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक संजाल व्यवस्थापन निर्देशिका’ को नाममा संसद्मा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरूपमा ब्युँताउन लागेको छ, नेपाली कांग्रेस गम्भीर आपत्ती प्रकट गर्दछ।”

सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती नहुने बताउँदै त्यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान रहेको दावी गरेका छन्।

उनले थप व्यवस्था आवश्यक भएपनि वृहत्तर विमर्श बेगर, संसद् विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नेतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको बताए।

उनले कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरू जारी गर्न नहुने, नमिल्ने र नपाइने तर्क पनि गरेका छन्।

यसप्रति अभिव्यक्ति स्वतन्त्र पक्षधरलाई जागरूक बन्न उनले अपिल गरे।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार ००:००