१ बैशाख २०८१, शनिबार । April 14, 2024

प्रबिधि

ट्रम्पले लगाए आफ्नो कार्यकालको अन्तिम समयमा ८ वटा चिनिया एपमाथि बन्देज


२४ पुस २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा ८ वटा चिनिया एपमाथि बन्देज लगाउने कार्यकारी आदेश जारी गरेका छन् ।

उनी आगामी २१ जनवरीदेखि पदमुक्त हुँदैछन् ।

मंगलबार ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै ८ वटा चिनियाँ एपसँगको कारोबारमा बन्देज लगाएका हुन् । यो सँगै अब अमेरिकामा अलिबाबा कम्पनीको अलि पे, टेनसेन्ट कम्पनीको क्यूक्यू वालेटसँगै विच्याटपे बाट हुने कारोबारमा बन्देज लाग्नेछ ।

त्यस्तै क्याम स्क्यानर, सेयरइट, भिमेट र डब्लुपिएस अफिस एपमाथि पनि बन्देज लगाइएको छ । ट्रम्पको उक्त कार्यकारी आदेश ४५ दिनपछि कार्यान्वयनमा आउने बताइएको छ जतिबेला उनले राष्ट्रपतिको पद छाडिसकेका हुनेछन् ।

चिनियाँ एपहरुविरुद्ध ट्रम्पले यसअघि जारी गरेका प्रतिबन्धात्मक आदेशहरु कार्यान्वयन हुन नसकिरहेको अवस्थामा पछिल्लो आदेश समेत कार्यान्वयन हुनेमा आशंका व्यक्त गरिएको छ । यसअघि विच्याटमाथि ट्रम्प प्रशासनले लगाउन थालेको प्रतिबन्धलाई अदालतले रोक लगाएको थियो भने अदालतले आदेशपछि टिकटकमाथिको प्रतिबन्ध पनि लागू हुन सकेको छैन ।

ट्रम्पले मंगलबार जारी ग्रेको कार्यकारी आदेशमा भनिएको छ, ‘अमेरिकी नागरिकका व्यक्तिगत जानकारीहरु प्राप्त गर्ने वा चोर्नका लागि चीन र उसको सत्ताधारी कम्युनिष्ट पार्टीको निरन्तरको गतिविधिले के प्रष्ट पारेको छ भने उसको मुख्य ध्येय भनेकै चीनको आर्थिक तथा राष्ट्रिय सुरक्षा एजेण्डाको प्रवर्द्धनका लागि ठूलो परिमाणमा डाटा संग्रह गर्नु नै हो ।’

प्रकाशित : २४ पुस २०७७, शुक्रबार ००:००