१४ चैत्र २०८०, बुधबार । March 27, 2024

बिचार

कांग्रेस महाधिवेशन : देउवा कि निधि ?




बजरंग नेपाली
कांग्रेसको १४औं महाधिवेशनलाई आन्तरिक विवादभन्दा पनि मूलतः कोभिडले नै प्रभावित गरेको हो । यस्तो अवस्थामा महाधिवेशनमा कसरी जाने वा नजाने भन्ने विषयमा नेताहरु अलि द्विविधाग्रस्त नै छन् । आन्तरिक कुरा भन्नुपर्दा कतिपय जिल्लाहरुमा समायोजन पनि भएको छैन । महाधिवेशनका सम्पूर्ण कुराहरु अवरुद्ध हुने कारण कोभिड नै हो । अस्ति केन्द्रीय समितिको बैठकबाट द्विविधाग्रस्त अवस्थामा भए पनि फेरि नयाँ क्यालेन्डर आएको छ । सो क्यालेन्डरमा हामीले मंसिरभित्र क्रियाशील सदस्यताको काम अगाडि बढाउनुपर्छ । पहाड र हिमालका जिल्लाहरुमा अहिले चिसो बढेको छ र तराई–मधेशको जिल्लाहरुमा पनि आफ्नै किसिमको समस्याहरु भएको हुनाले प्रयास भइरहेको छ, अब कतिसम्म सफल हुन्छ हेर्न बाँकी छ ।
कोभिड रहेसम्म कांग्रेसको महाधिवेशन सम्पन्न हुने अवस्था छैन भन्ने होइन । यसभित्र थुप्रै कुराहरु छन् । हाम्रो छिमेकी राष्ट्र भारतकै उदाहरण हेर्ने हो भने कोभिडकै सन्त्रासको बीचमा त्यहाँको सरकारले बिहारमा निर्वाचन त गराएकै हो । अमेरिका जस्तो देश जहाँ कोभिडको आतंक छ, त्यहाँ पनि समयमै निर्वाचन भयो । त्यसकारणले सरकारको समस्याले गर्दा पनि ढिलाइ भइरहेको छ । पार्टीले पनि आफ्नो स्पष्ट धारणा बनाउनुपर्छ । हामीले धेरै ढिलो पनि गर्नु हुँदैन । किनभने वैधानिक समस्या पनि छ, संवैधानिक संकट पनि आउन सक्छ । महाधिवेशनका लागि आगामी भाद्रसम्म अन्तिम म्याद हो । त्यसले गर्दा हामीले समयमै महाअधिवेशन गर्नुपर्छ ।
केन्द्रीय समितिले त फागुनमै महाधिवेशन गर्ने भनेर ठोस निर्णय नै गरेको हो तर हाम्रो जुन क्यालेन्डर छ त्यसलाई व्यवस्थित गर्ने कुरामा छलफल भइरहेको छ । फागुनमै भएन भने एक दुई महिना सारेर क्यालेन्डरलाई व्यवस्थित गर्ने कुरा हुन्छ । अर्को विकल्पै छैन हामीसँग । कोभिड रहेपनि वा नरहेपनि हामीले समयसीमा भित्र महाधिवेशन गर्नैपर्ने हो । कोेभिडको मामिला केपी ओलीको सरकार अत्यन्त उदासीन, गैरजिम्मेवार रहेकोले यो अवस्था सिर्जना भएको हो ।
कोरोनाको मामिलामा प्रदेश २ को वीरगन्ज हटस्पट नै रह्यो, त्यस्तै अन्य–अन्य ठाउँहरुको अवस्था त्यस्तै थियो । प्रदेश २ कोरोनामुक्त छ भनेर सरकारले भनिरहेको छ, मलाई एकदम अचम्म लाग्छ । महोत्तरी जिल्लाको कुरा गर्दा कोरोनासम्बन्धी जुन बैठक हुन्छ, त्यसको बैठक नबसेको दुई महिनाभन्दा बढी भइसक्यो । महोत्तरी जिल्लामा टेष्ट नै भइरहेको छैन । यहाँ पटक्कै कोरोना छैन भन्न मिल्छ ? प्रदेश २ मा सरकारको उदासीनताले कोरोना झन् बढिसकेको छ । कोभिड एउटा आफ्नै ठाउँमा समस्या हो तर छैन भन्न मिल्दैन ।
अब कुरा गरौं प्रदेश २ मा हाम्रो महाधिवेशनको अवस्थाबारे । लकडाउनको अवधिमा प्रदेश २ को प्रायः जिल्लाहरुमा समायोजनको काम रोकिएको थियो । त्यो समायोजनको काम नहुने कारण पनि कोभिड नै हो । हाम्रो आन्तरिक केही समस्याहरु पनि हो । तर जिल्लाहरुबाट लगभग सबै पठाइसकेका छौं । कोभिडले गर्दा निर्वाचन समितिका पदाधिकारीहरु बस्न सक्नुभएको छैन । तर पनि प्रदेश २ को दुई वा तीन वटा जिल्लामा मात्रै समायोजनको काम सम्पन्न हुन बाँकी छ । तर फागुनमै महाधिवेशन हुन्छ भन्ने कुरामा कोही पनि ढुक्क छैनन् ।
कांग्रेसमा आगामी महाधिवेशनबाट कस्तो नेतृत्व आउने भन्ने कुराको निर्णय देशैभरिका प्रतिनिधिहरुले निर्णय गर्ने हो । किनभने महाधिवेशनको कस्तो माहौल निर्माण हुन्छ, कस्ता व्यक्तिहरु उम्मेदवार बन्नुहुन्छ त्यसको निष्कर्ष महाधिवेशनले गर्ने हो । १३औं महाधिवेशनमा पनि युवा पुस्ताका साथीहरुलाई जोड्ने प्रयास महाधिवेशनले गरेकै हो । हामी पनि चाहन्छौं कि यो महाधिवेशनबाट नयाँ अनुहारहरु आऊन्, युवा नेतृत्व आऊन् । नयाँ अनुहार भनेको नेपाली कांग्रेसलाई हाँक्न सक्ने सक्षम र योग्य व्यक्तिहरु हुन्, चाहे त्यो पूराना पुस्ता हुन् वा नयाँ पुस्ताका ।
कांग्रेसको सभापतिका लागि विमलेन्द्र निधिजीको सम्भावना कति छ भनेर त म भन्न सक्दिँन वा अहिलेका वर्तमान सभापतिजीले के गर्नु हुन्छ त्यो उहाँको क्षेत्राधिकारको कुरा हो । तर, विमलेन्द्र निधि अहिले उपसभापति पनि हुनुहुन्छ । उहाले उम्मेदवारी दर्ज गर्नुभएको छ, त्यसलाई पार्टीभित्र अत्यन्त सकारात्मकरुपमा बहस चलिरहेको छ । उहाँ योग्य र सक्षम व्यक्तित्व नै हुनुहुन्छ । कांग्रेसमा स्थायी ध्रुवीकरण भइरहेको छ । तर सबै कुराको निधो त महाधिवेशनले नै गर्ने हो । महाधिवेशनका साथीहरुले विमलजीलाई साथ दिन्छन् कि अन्यलाई यो समयले बताउँला । तर विमलको उम्मेदवारीलाई सबैले सकारात्मकरुपले बहस गरिरहेका छन् ।
सभापति शेरबहादुर देउवा र आदरणीय उपसभापति विमलेन्द्र निधिको पार्टीमा लामो इतिहास पनि छ । पार्टीभित्र नेपाल विद्यार्थी संघको सक्रिय नेतृत्वदायी भूमिकाबाट उहाँहरु यतिसम्म आउनुभएको छ । अहिलेसम्म हामीले बुझ्दा उहाँहरुको बीचमा पार्टीको गाह्रो–साह्रो अवस्थामा एकै ठाउँमा उठ–बस हुने, एकअर्कालाई स्वीकार गर्ने, सरसल्लाहले अगाडि बढ्ने हामीले हेर्दैछौं । अब सभापतिजीले के गर्नुहुन्छ भन्न सकिन्नँ । विमलेन्द्र निधिजीले सभापतिजीलाई आग्रहसमेत गर्नुभएको छ । अब उहाँहरु के गर्नुहुन्छ त्यो म भन्न सक्दिँन । तर उहाँहरु एकै ठाउँमा बसेर धेरै समय बिताउनुभएको छ । अब हेरौं उहाँहरु कसरी अगाडि बढ्नुहुन्छ ।
विमलेन्द्र निधिलाई सभापति देउवाले सघाउनु हुन्छ होला । सभापतिमा थुप्रै जनाको उम्मेद्वारी छन् । तर विमलेन्द्रको उम्मेद्वारीले पार्टीभित्र एउटा नयाँ ध्रुवीकरणको परिस्थिति निर्माण गर्दैछ । पार्टीको आन्तरिक ध्रुवीकरणमा कुनै बेला केपी भट्टराई र गिरिजा प्रसाद कोइरालाको कुरा आउँथ्यो, यता आएर जसरी शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइरालाको आयो, पछि वरिष्ठ नेता रामचन्द्र पौडेल र देउवाजीको कुरा आयो । यी सबै कालखण्डमा विमलेन्द्र निधिजी र शेरबहादुर देउवाजी एउटै ठाउँमा देखिनुभयो । तर अहिले शेरबहादुरजीले आफ्नो उम्मेद्वारी कायम राख्नुभएको छ र त्यहीं खेमाबाट विमलेन्द्रजीले आफ्नो उम्मेद्वारीको घोषणा गर्नुभएको छ । त्यसले गर्दा पार्टीमा एउटा नयाँ किसिमको ध्रुवीकरणहरु बन्ने सम्भावनाहरु देखिँदैछन् । अन्य उम्मेद्वारहरु पनि हुनुहुन्छ ।
जनताले पाँच वर्षका लागि नेकपालाई जनादेश दिइसकेको छ र नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस भनेर जनादेश छ । त्यसले गर्दा अहिले नेकपाका नेताहरु ठूलो गैरजिम्मेवारीपूर्ण कामहरु गर्दै हुनुहुन्छ । किनभने नेपालमा राजनीतिक स्थिरता र शान्ति हुनुपर्छ । स्थिरता हुँदैन भने देशले आर्थिक विकास गर्दैन, आर्थिक समृद्धि आउँदैन । नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच जुन द्वन्द्व चलिरहेको छ, त्यसले देशमा एउटा नयाँ अवस्था सिर्जना गर्न सक्छ । त्यसले गर्दा जनादेशविपरीत काम कतैबाट पनि हुनु हुँदैन । नेपाली कांग्रेस यस मामिलामा एकदम प्रष्ट छ । जनताले नेकपालाई ६ वटा प्रदेश र देश चलाउन संघमा दुई तिहाइ नजिकको जनमत दिएको छ । त्यसलाई नेकपाका नेताहरुले कदर गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो । प्रतिपक्षी दलका नेता र सत्तापक्षका नेताहरुबीच भेटघाटका कुराहरु भइरहन्छ । मधेश दर्पण फिचर सेवा

प्रकाशित : १९ मंसिर २०७७, शुक्रबार ००:००