१२ बैशाख २०८१, बुधबार । April 25, 2024

बिचार

इण्डियाको मनोवैज्ञानिक हतियार

युद्ध जित्नका लागि गरिने विविध रणकौशलमा दुष्मनलाई भ्रमित तुल्याउन अदृश्य र खतरनाक विध्वंसात्मक हतियारका रूपमा मनोबैज्ञानिक सश्त्रास्त्र प्रयोग गरिन्छ।



विश्व परिप्रेक्ष्यमा आफ्ना प्रतिद्वन्द्वीविरुद्ध हर प्रकारको उपाय अवलम्बन गर्ने तरिका अस्वाभाविक र नौलो होइन। सन् १९९८ मा इराकमा ‘वेपन्स अफ मास डेस्ट्रक्सन’ (डब्ल्युएमडी) अर्थात् वृहत जनविनाशकारी हतियार गोप्य तबरबाट उत्पादनमा लागेको भनि अफवाह फैलाइ विश्व जनमत आफ्नो पक्षमा जुटाउने प्रयास गर्दै न्यायोचित कार्य गरेको देखाउन अमेरिकाले भावी सङ्कट टार्नको बहानामा सैनिक आविष्कारका नयाँ पुस्ताका हतियारका ताजा परीक्षणका अतिरिक्त विरोधी खेमाकालाई तर्साउनसमेत इराक उपर ध्वस्त हुनेगरी हमला गरेको सन्दर्भ आफ्नै देशलगायत विश्व मञ्चमा तीब्र आलोच्य रहेको विषय पुरानो भई सकेको छैन।

युद्ध जित्नका लागि गरिने विविध रणकौशलमा दुष्मनलाई भ्रमित तुल्याउन अदृश्य र खतरनाक विध्वंसात्मक हतियारका रूपमा मनोबैज्ञानिक सश्त्रास्त्र प्रयोग गरिन्छ। बैरीलाई मानसिक दबाब दिएर थकित र चकित गर्न सके आफू हाबी हुन सक्ने सम्भाव्यता बहुआयामिक हुने गर्दछ।
यसै प्रसङ्गमा सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच फोकलैण्ड युद्ध हुन्छ। बेलायती फौजका गोर्खाली सेना जब त्यस भूमिमा पुग्छ, तब दुष्मनका हतियार काम नलाग्ने हुन्छ। आश्चर्य मान्न पर्ने किन भन्दा बारुद र फलामका हतियार शिथिल तथा निष्क्रिय भए भन्ने सवालमा दुष्मनका हातले बन्दुक र गोलाबारुद समाउन सक्ने रहेनन्। मुटु कामेर हात गोडा लुलो भए कसरी दुष्मन सेना अर्जेन्टिनाले हतियार चलाउन? अर्कातिर, बेलायती गोर्खाली सेनाले ‘जय जय काली आयो’ गोर्खालीको गर्जनसाथ नाङ्गो खुकुरीले छप्काएर मूला फाँडे जसरी अर्जेटिनीहरूको सखाप नाश गर्छ। यस युद्धमा तत्कालीन भिडन्तको समय युद्ध क्षेत्रमा दुष्मनको भन्दा गोर्खालीको सङ्ख्या दश गुण कम भएता पनि जीत गोर्खालीको पोल्टामा भएको थियो। आजपर्यन्त अर्जेन्टिनी जनतामा गोर्खालीको त्यो अदम्य साहस प्रदर्शित युद्ध हुनु पूर्व बेलायतले चलाएको हौवा र अफवाह त्यहाँका जनजीब्रोमा रहेको छ।
बेलायती फौज भन्नाले गोराहरू लड्ने होइन, भीरपाखा पहाडमा जन्मेर हुर्केका, जङ्गल, नदी र पहरामा खेल्ने, जङ्गली जनावरसरह हिंस्रक र आलो रगत पिउने, हरदम कम्मरमा खुकुरी नामको धारिलो हतियार भिर्ने जो एकपटक हातमा परे कसैलाई नकाटेसम्म फर्काएर दाबमा राख्न नमिल्ने, हेर्दामा साना कद भएका र बिजुली चम्के जस्तो फुर्तिला, उकाली–ओराली गर्दा पनि नथाक्ने, हिमाल मुन्तिर अनकण्टार अग्ला ठूला पर्वतमालाले घेरेको घना जङ्गल र बस्तीहरूमा बस्ने र कसैको डर नमान्ने नेपालको गोर्खाली प्रजाती अजीब प्राणी हो।

गोर्खालीको रगतमा रातो रक्तकण अरूकोभन्दा धेरै हुने गर्दछ र अक्सिजनको मात्रा अधिक ग्रहण गर्न सक्ने क्षमता र पुख्र्यौली समुद्री सतहदेखि धेरै उचाइको बसोबासकाकारण अल्प अक्सिजनमा पनि बाँच्न सक्ने प्राकृतिक खुबीले गर्दा जस्तै भौगालिक परिस्थितिमा सहजै छिट्टै अनुकूल बन्न सक्ने शारीरिक बनौट भएका गोर्खाली जन्मजात लडाकु जैविक गुण सम्पन्न हुने गर्दछ।
त्यस्तै परे नरभक्षी बन्न बेर नलाउने, काँचै मासु खाने गोर्खालीले आन्द्राभुँडी, रगत रौं बाहेक केही नछाडी भुटेर, पोलेर खान कुनै जनावर नछाड्ने, देख्दा सामान्य र सरल भएता पनि बढो खतरनाक हुन्छ, इत्यादि। बेलायतीले यस्तै डरलाग्दा कथाहरू हालेर निडर र साहसी नेपालीलाई दानव जसरी चित्रित गरेता पनि दुष्मनको सातो उडाउने वंशज सुस्ताएको छैन।

मनोवैज्ञानिक हतियार स्वरूप खेलको मैदानमा खेलाडी प्रतिस्पर्धीहरू एकले अर्कालाई वास्तविक भिडन्त अघि चमत्कारिक उपलब्धीका मनगढन्ते किस्साहरू फिंजाएर परास्त गर्न मानसिक ‘भर्चुअल’ लडाइँमा तल्लीन रहन्छन्। निर्वासित भुटानी शरणार्थी नेता टेकनाथ रिजालले भुटानको शाही सल्लाह मण्डलको पार्षद भई मन्त्रिपरिषद तथा शाही निजामती सेवा आयोगका सदस्य रहेर बटुलेका तीता अनुभवमा ‘माइण्ड कन्ट्रोलर’ (मनमस्तिष्क नियन्त्रण) को शिकार भएको ‘टर्चर किलिङ्ग मि सफ्टली’ पुस्तकले मनोविज्ञानको प्रभाव दर्शाउँछ।
नेपाली भूमिमा स्वघोषित इण्डियाको स्वामित्व रहेको ‘िलम्पियाधुरा–मानसरोवर’ जोड्ने निर्मित सडक जायज रहेको दाबी गर्दै इण्डियाले नेपालको राजतन्त्र तथा राष्ट्रिय हिन्दू धर्म फाल्न र संविधान ल्याउन कम्युनिस्टलाई गरेको मद्दतको बद्ला नेपाल र नेपाली जनताका विरोधको जवाफमा सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आएको भारतीय सेनाका अवकासप्राप्त दुई तारे मेजर जनरल गगनद्धीप बक्सीको एक नमुनारूपी मनोवैज्ञानिक अस्त्र हो। पाकिस्तानविरुद्ध मोर्चामा डटेर सङ्गालेका ‘साइकोलोजिकल वारफेयर’ युद्धको रणनीतिक अनुभूतिको झलक मिल्ने सुरक्षाविद् जनरलको असफल प्रयत्न नेपालले बुझ्न कठिन छैन।

जनरल बक्सीले नेपालीलाई राजनीतिक परिवर्तन ल्याउन सघाएकोमा आत्मआलोचना गर्दै पछुतो मानेर नेपाल र नेपालीको सम्मानजनक शब्दावलीका साथ भावनात्मक परम्परागत र ऐतिहासिक सम्बन्धको दुहाइ दिएका छन्। प्रत्यक्ष टेलिभिजन अन्तरक्रियाको बहस कार्यक्रममार्फत धार्मिक, सांस्कृतिक र आध्यात्म्य सम्बद्ध मान्यताहरू धरापमा पारेर वर्तमान इण्डियाको सडक निर्माण कार्यको नेपाल, नेपाली र पूर्वमन्त्री मृगेन्द्र रिजाललगायत प्रधानमन्त्रि केपी ओलीको अनाधिकृत विरोध गलत रहेको विचार पोखेको मात्र होइन।
घुमाउरो पाराले नेपाली जनमानसमा नेता र दलहरू प्रतिकूल वातावरण बन्न र बनाउनका लागि विद्रोह जन्माउन बिजारोपणको प्रयास गरेको बुझ्न जरूरी छ। निजको भनाई शतप्रतिशत सत्य भएपनि त्यसैमा अल्झिएर आपसी विवाद गर्नुको औचित्य र सान्दर्भिकता टरी सकेको छ। ऐक्यबद्धता र राष्ट्रवादको अनुपम दृष्टान्त बनेको वर्तमान माहोलमा नेपालीहरू आपसमा रणभुल्लमा पर्न हँुदैन। अन्यौल र असमझदारीको सम्भाव्य बीउ छरेर सँधियारले नेपालीलाई जुधाएर कमजोर बनाइ फाइदा लिने दाउ खेलेको चालमा परिएला सतर्क रहनु पर्दछ।
नेपालीको एकता र स्वाभिमान भाँड्ने र भड्काउने खाले विचार उत्तेजक भाषणको प्रत्युत्तर संयम र तार्किक ढंगबाट प्रस्तुत गरिनाले अन्तर्राष्ट्रिय जगतबाट समर्थन तथा सहयोग निशर्तः ओइरो लाग्छ, धैर्य गरौं।

सुरक्षाविद् तथा राजनीतिक विश्लेषक तामाङ सशस्त्र प्रहरी बलकाे अवकाशप्राप्त एआइजी पनि हुन्।

प्रकाशित : ७ असार २०७७, आइतबार ००:००