१० बैशाख २०८१, सोमबार । April 22, 2024

बिचार

समग्र मधेश र मधेशीको हितैषी पार्टी बनाउन जरुरी



सन्तोष मेहता


जनता समाजवादी पार्टीको परिकल्पना, सिद्धान्त, विचार, नीति, कार्यक्रम, संगठन, नेतृत्व, कार्यशैली सबै हिसाबले नयाँ र उन्नत बनाउने लक्ष्य हुनुपर्छ । अधुरो रहेको मधेस–थरुहट र जनजाति आन्दोलनलाई पूर्णता दिन सक्नुपर्छ । जसपाको परिकल्पना अनुरुप नेतृत्व भएन भने लक्ष्य हासिल गर्न सन्सय पैदा हुन्छ ।
जसपा सुस्पष्ट ढंगले आफू १०+१ पहिचान प्रदेशको पक्षधर रहेको, समानुपातिक समावेशी हुनुपर्ने तथा वन्चित किनारिकृत जाती समुदायले विशेष संरक्षण पाउनुपर्ने पक्षकार रहेको छ । त्यसका निम्ति आन्दोलन वा जनमत हासिल गर्ने आगामी रणनीति हुने पनि निश्चितै छ, त्यहीं रणनीतिक लक्ष्य प्राप्त गर्न शीर्ष नेतृत्व पनि स्थापित गर्नैपर्छ ।
१. त्यसअनुरुप आफूले कल्पना गरेको १० वटै पहिचान प्रदेशबाट केन्द्रीय नेतृत्वमा ल्याउने रणनीति आवश्यक हुन्छ कि हुँदैन ?

२. प्रदेश नं. १ भनेको मुख्यतः पहाडी ब्राह्मण(खस), लिम्बुवान, खम्बुवान(किरात) र कोच (मधेश) पहिचान भएको प्रदेश हो, १० प्रदेश हुँदा तीन पहिचानमा बाँडिने हो । विगतको मधेश आन्दोलनको समेत आधार रहेको तथा झापा–मोरङ–सुनसरी सहितको मधेश प्रदेश हुनुपर्छ भनेर संविधान निर्माण बहिस्कार, नाका केन्द्रित ६–६ महिना लामो आन्दोलन, निर्वाचन बहिष्कार, सयौंको सहादत भएको हो । त्यस्तो संवेदनशील महत्त्वपूर्ण झापा–मोरङ्ग–सुनसरीबाट मधेश नै आधार क्षेत्र रहेको जसपामा कोच(मधेसी) राख्नु÷अटाउनु आवश्यक हुन्छ कि हुँदैन ?
३. १०+१ प्रदेशको कल्पनामा सबैभन्दा उत्पीडित समुदाय दलित त्यसमा पनि सिमान्तकृत रहेको मधेशी दलितको प्रतिनिधित्व मधेश नै आधार क्षेत्र रहेको जसपामा आवश्यक हुन्छ कि हुदैन ?
४. समावेशी पार्टीको परिकल्पना गरिरहँदा प्रमुख तीन समुदाय खस आर्य, पहाडी जनजाति र थारु–मधेशी लगभग बराबर जनसंख्या रहेको अवस्थामा मधेशबाट ५९%, खसबाट २३% र जनजातिबाट १८% को असन्तुलित सहभागितालाई समानुपातिक गर्दै लैजाने प्रण लिने कि नलिने ?


५. तराई मधेश नै आधार क्षेत्र रहेको पार्टीमा तराईली÷मधेशीको मुख्य कलस्टर मध्ये फरवार्डको ३३%, यादवको ३०%, वैश्यको १७%, थारुको १०%, दलितको ०%, कुशवाहको ०%, तराई जनजातिको ०% र अति पिछडा बर्गको ०% को अमिल्दो सहभागिता र शुन्य सहभागितालाई तत्काल सच्याउने कि न सच्याउने ?
६. पहाडी जनजाति मध्ये मुख्य कलस्टर नेवारको ४५%, राई २२%, लिम्बू २२%, तामाङ ११%, गुरुङ, मगर, शेर्पाको ०% को अमिल्दो सहभागिता र शुन्य सहभागितालाई सम्बोधन गर्ने कि नगर्ने ?
७. खस आर्य मध्ये मुख्य कलस्टर बाहुन ४२%, क्षेत्री ३३%, दलित १७%, ठकुरी ८%, सन्यासी ०% को लगभग मिल्दो सहभागिता भएपनि शुन्य सहभागितालाई सम्बोधन गर्ने कि नगर्ने ?
८. लैङ्गक दृष्टिकोणले पुरुषको ८६% र महिलाको केवल १४% को सहभागिताले गिज्जयाएको छ, महिलाको अझ सहभागिताको परिस्थिति बनाउने कि न बनाउने ?
उपरोक्त प्रश्नहरु हल गर्नैपर्छ । जसपा पुरानै पार्टीहरूको डुप्लीकेट हुने हो भने नेपाली जनतालाई अर्को भारी बोकाउन आवश्यक छैन । त्यसैले हिमाल, पहाड, मधेश जोड्ने सच्चा राष्ट्रिय पार्टी बनाउने तथा सम्पूर्ण मधेश जोडि विगतमा जातिवादी पार्टी वा जातिवादी नेतृत्वको आरोप नष्ट गरि समग्र मधेश मधेशीको हितैषी पार्टी बनाउनु जरुरी रहेको छ ।
मधेशी समाजमा पहिलेदेखि नै थारू–गैरथारू, यादव–गैरयादव, फरवार्ड–ब्याकवार्ड, हिन्दु–मुस्लिम, पहाडी, बैश्य÷पचनिया, कोइरी, दलित जस्ता मतभेदका बीउ छन् । समाजको यो गलत विभाजित संरचनालाई मधेशलाई प्रतिनिधित्व गर्ने राजनीतिक दलले समाप्त गर्नुपर्थ्यो । तर अपसोच, सामाजिक यो गलत संरचनाको ढाँचाअनुरूप नै बिगतमा मधेशी दलहरुले आफूलाई ढाले । जसलाई अब पूर्णतः रुपान्तरण गरि नष्ट गर्न सक्नु पर्दछ । यसो गरिए यो एकीकरणसंगै विभाजित मधेशी समाज पनि एक हुनेथियो ।


हुन त दुबै पार्टी एकताको घोषणा पश्चात् पनि नेतृत्व मिलानमै समस्या भएको कारणले एकता सफल हुनु नहुने द्विविधा अन्तिम समयसम्मै थियो । अन्ततः समाजवादी र राजपाको एकता सफलतापूर्वक सम्पन्न भएको छ । एकताको निम्ति दुबै पार्टीका सबै शीर्ष नेताहरूको अथक अतुलनीय प्रयास रहेकै हो ।
यद्यपि राजपाको तर्फबाट एकीकरणका जिम्मा पाएका श्रदेय नेता राजेन्द्र महतोको प्रारम्भ देखिकै अथक प्रयास र समाजवादीका डाक्टर बाबुराम भट्टराईको एक वर्ष अगाडि देखिको पहलको परिणाम पनि हो । हुन त जसको जे सपना हुन्छ त्यसको परिणामको निम्ति उसले त्याग नि गर्नुपर्ने रहेछ, अथक प्रयास गर्ने नेतृत्व पुर्व प्रम भइसकेका डाक्टर भट्टराई र मधेशका शक्तिशाली नेता राजेन्द्र महतोमा नि त्यो त्याग देखियो ।


माननीय महन्थ ठाकुर र माननीय उपेन्द्र यादव सयुक्त अध्यक्ष बस्न सहमत हुनु पनि एकतालाई सफल बनाएको हो । समयावधिमै निर्वाचन आयोगमा तत्काल पुग्नुपर्ने बाध्यता भएकोले धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी नै रहेको छ । आशा गरौं बाँकी कुरामा अध्यक्ष लगायतका पदाधिकारीले सबैलाई चित्तबुझ्दो निर्णय गर्नेछ । (मधेश दर्पण फिचर सेवा)

प्रकाशित : ५ असार २०७७, शुक्रबार ००:००