१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

अन्तवार्ता

भ्रामक कुराको पछि नलागौँ : यायोक्खा उपमहसचिव भीम राई




किरात राई विद्यार्थी संघको विषयलाई लिएर यतिवेला सो समुदायमा अन्योलको स्थित पैदाहँुदै आएको छ । केहीले किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष माथि नै विभिन्न प्रकारको आरोप लगाउँदै आएका छन् । संघको २०७६ बैशाख २६/२८ गते खोटाङको दिक्तेलमा भएको ९ औं राष्ट्रिय सम्मेलनको बन्द सत्रको अध्यक्ष मण्डलका अध्यक्ष रहनुभएका किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव भीम राईसँग टुडिखेल डटकमले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ ।

किरात राई विद्यार्थी संघ यायोक्खाको भातृ संगठन होइन ?
हो, किरात राई विद्यार्थी संघ यायोक्खाको भातृ संस्था हो ।


अहिले किरात राई विद्यार्थी संघमा विभाजन भएको हो ?
होइन । संघमा विभाजन भएको यायोक्खालाई औपचारिक रुपमा जानकारी छैन । समाजिक सञ्जालहरु र केही अनलाइन मिडियाहरुमा आएको हल्ला बारे यायोक्खाको महासचिव जनक राईले विज्ञप्ति प्रकाशन गरेर धारणा सार्वजनिक भइसकेको छ ।


झापा दमकमा भएको भेलाबाट सार्वजनिक भएको समिति के हो त ?
यायोक्खाको भातृ संस्थाको रुपमा रहेको किरात राई विद्यार्थी संगठनको गत बैशाखमा खोटाङको दिक्तेलमा भएको ९ औं राष्ट्रिय सम्मेलनले जीतेन राईको नेतृत्वमा नयाँ समिति गठन भएको छ । झापाको विषयमा औपचारिक जानकारी नभएकोले बोल्न उचित नहोला ।


तपाई बन्द सत्रको अध्यक्ष मण्डलको अध्यक्ष पनि हुनुहुन्थ्यो, खोटाङमा खास के भएर असन्तुष्टि सिर्जना भएको हो ?
जुनसुकै सम्मेलनहरुमा नेतृत्वमा समान्य टकराव हुन्छ । त्यहाँ पनि नेतृत्वमा जाने इन्छा हुनु स्वभाविक हो । किरात राई विद्यार्थी संघमा निर्वाचन भएको इतिहास छैन । हामीले पनि सोही परम्परालाई जोगाउने प्रयास ग¥यौ ।
संघको विधानमा ३७ केन्द्रीय सदस्य सहित ५७ परिषद रहने व्यवस्था छ । ५७ बनाउनको लागि जिल्लाहरु र यालाखोम (उपत्यका)बाट ३४ निर्विरोध रुपमा आए । सम्मेलनमा उपस्थित ४० जना आयोजक सदस्यबाट २३ जनामा चयन हुनुपर्ने भयो । आयोजक वीच सर्वसहमतिको लागि ६ घण्टा जति समय उपलब्ध गराउदा पनि छानिएर २३ जना आउन सकेन । त्यसपछि आन्तरिक निर्वाचन गराउनुको विकल्प रहेन । उनिहरुकै सल्लाहमा बन्द सत्रको निर्वाचन मण्डलले आयोजकवीच आन्तरिक निर्वाचन गरायो र नयाँ समिति गठन भयो । यो निर्वाचन पदाधिकारीदेखि केन्द्रीय समितिको लागि भएको होइन कि आयोजकवीच आन्तरिक रुपमा भएको हो । नयाँ समिति भने निर्विरोध निर्वाचित भएको हो । निर्वाचनमा सहभागि भइसकेपछि असन्तुष्टि कसैको भएपनि खास अर्थ लाग्दैन जस्तो लाग्छ ।

अध्यक्ष मण्डलमा को को हुनुहन्थ्यो ?
अध्यक्ष मण्डल हामी आफैले गठन गर्ने कुरा होइन । संघको तत्कालीन केन्द्रीय सचिवालयले गठन गर्ने कुरा हो । सचिवालयमा निर्णय भएर बन्द सत्रको हलमा म भीम राई(यायोक्खा उपमहासचिव), कोषाध्यक्ष देवान राई, संघको पूर्व अध्यक्षहरु रविन राई, धिरेन्द्र रुम्दाली राई र अर्जुन जम्नेली राईको प्रस्ताव भयो र हलबाट पारित भएको हो । हामीले बन्द सत्र सुरु गरेपछि यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई, संघको संस्थापकहरु दिपेन्द्र राई, भीम राई, दिपेश राई, यायोक्खा केन्द्रीय सदस्य अन्जना राईलाई अथिति तथा संघको पूर्व उपाध्यक्षहरु दिपेन वाला राई, दिपेन्द्र रुम्दाली राई, पूर्व सचिवहरु सुरेन्द्र राई, अवि राई र नवीन राई, किरात राई पत्रकार संघको अध्यक्ष भीम राई, पूर्व केन्द्रीय सदस्यहरु युग्सन, भुवन राई लगायतलाई विभिन्न उपसमितिमा राखिएको थियो । यही टोलीले नयाँ समिति चयन गरेको हो ।


अध्यक्ष मण्डल सवैको सहमतिमै नयाँ समिति चयन भएको हो त ?
तत्कालीन सचिवालयले गरेको प्रस्ताव बन्द सत्रको हलमा तालि बजाएर अनुमोदन गरेपनि अध्यक्ष मण्डलका सदस्यहरु रविन राई, धिरेन्द्र रुम्दाली राई, संस्थापक दिपेश राई, उपाध्यक्षहरु दिपेन वाला राई, दिपेन्द्र रुम्दाली राई लगायतका ६/७ जनाको टोली भित्र पस्नु भएन । मैले अध्यक्ष मण्डलको प्रमुख र व्यक्तिगत हिसावले पनि हलमा आउन पटक पटक हार्दिकताको साथ आग्रह गर्दापनि उहाँहरु आउनु भएन र हल बाहिर बस्नु भयो । नयाँ समिति गठन भइन्जल सम्म उहाँहरु बन्द सत्र आसपास बस्नु भयो तर भित्र पस्नु भएन ।


उहाँहरु किन हल नपस्नु भएको जस्तो लाग्छ ?
त्यो त उहाँहरुलाई नै सोध्ने हो । रविन जीले मेरो व्यक्तिगत रुपमा चाहना छैन भन्नु भयो । मलाई धिरेन्द्र जीले मलाई नसोधि राखियो भन्नु भयो । हामीले कर्तव्य सोचेर बन्द सत्र चलाउनु पर्ने थियो भन्ने मलाई लाग्छ ।

अनि एकलौटी रुपमा एउटा पक्षलाई मात्र समेटेर समिति बनाउनु भएको भन्ने आरोप छ नि ?
हामीले सम्भावना भएका र इन्छुक सवैलाई समितिमा अटाउन कोशिस गरियो । त्यही भएर विधान संशोधन मार्फत हलबाट महिला उपाध्यक्ष, उपमहासचिव, महिला सचिव र सहकोषाध्यक्ष थप्ने प्रस्ताव आयो र हलबाट पारित पनि भयो । पारित भइसकेपछि हाल असन्तुष्ट भनिएका भाई, बहिनीहरुले सो संसोधन उल्टाउनु पर्ने प्रस्ताव राखे । अध्यक्ष मण्डल र अतिथिहरुलाई नै विभिन्न आरोप लगाउन थालेपछि हामीले त्यो निर्णय खारेज गर्नै पर्ने भयो । हाम्रो मनसाय काम गरेर आएका एक जना पनि भाइबहिनी नछुटुन भन्ने थियो । तर, दुःखको कुरा आयोजक समितिको आन्तरिक निर्वाचन जितेका चार जना भाइबहिनीहरु र केही जिल्लाबाट सर्वसहत रुपमा निर्वाचन मण्डलमा आएका भाइबहिनीहरुले परिणाम घोषणा गर्दै गर्दा राजिनामा पत्र लिएर आउनु भयो ।

किन यस्तो भयो होला ?
त्यो हामीले जान्ने कुरा भएन । निर्वाचन मण्डलका साथिहरु हल बाहिर बस्नु, भित्र केही भाइबहिनीहरुले हलले पारित गरेको कुराहरु उल्टाउनु, निर्वाचन जितेका र सर्वसहमत रुपमा आएका भाइबाहिनीहरुले राजिनामा दिनुपर्ने के कारण हो मेरो पनि खोजिको बिषय बनेको छ ।


यस्तै अवस्थामा नयाँ समिति घोषणा गर्नु भयो ?
दुई दिनमा सक्नु पर्ने सम्मेलन पाँच दिनसम्म लम्बिएको थियो । आयोजक ४० बाट २३ मा चयन हुँन यतिधेरै समय छलफल भयो कि स्वयम आयोजक वीचमै वाक दिक भए । निवर्तमान अध्यक्ष बिर्सिका राईसहित चार जनाले छाडेपनि अरु कोही छाड्न नमानेपछि रामचन्द्र राईले नै निर्वाचनको प्रस्ताव गरेका थिए । त्यसपछि निर्वाचन समितिले निर्वाचनको सम्पूर्ण प्रकृया पुरा गरेर आन्तरिक चुनाव गराएको हो । नयाँ समिति घोषणा भएपछि हाल असन्तुष्ट भनिएका भाइबहिनी र अध्यक्ष मण्डलका सबै जसो सदस्यहरुले बधाइ दिएर छुटेको मलाई याद छ ।

अनि किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईलाई लाग्दै आएको अरोपहरु बारे के भन्नु हुन्छ ?
यो विषयमा म नै आश्चर्यमा छु । उहाँ वन्द सत्रमा प्रमुख अतिथिको रुपमा बस्नु भएको हो । उहाँ साझा, सर्वोच्च संस्थाको अध्यक्ष भएको हैसिएतले निर्वाचनको बारे बोल्ने र पक्ष विपक्षमा लाग्ने कुरा भएन । उहाँ मात्र होइन हामी सवै सम्भावना भएका भाइबहिनीहरु कोही नछुटुन भन्नेमा थियौ । एकादुई छुटिहालेपनि यायोक्खाको कुनै न कुनै तहमा जिम्मेवारी दिइने भाइबहिनीहरुलाई थाहा थियो ।
तर, एकोहोरो सामाजिक सञ्जालको दुरुपयोग गर्दै अध्यक्ष दिवस राई माथि आरोप किन लगाइ रहेका छन थाहा छैन । बरु म अध्यक्ष मण्डलको अध्यक्ष भएकोले आरोप हामीलाई आउनु पर्ने हो । निरन्तर अध्यक्ष माथि नै आरोप आउनुमा केही व्यक्तिहरु यायोक्खाको गरिमा घटाउने योजनामा त छैनन भन्ने लाग्न थालेको छ । यो विषयमा यायोक्खाले विज्ञप्ति प्रकाशन गरेरै आरोपहरुको खण्डन गरिसको छ । जति आरोपहरु लगाइदै आएको छ त्यो झुट तथा कपोलकल्पित हुन । बन्द सत्र सफल बनाउनका लागि यायोक्खा अध्यक्ष दिवस राई, संघको संस्थापक तथा पूर्व अध्यक्ष दिपेन्द्र राई लगायतले सहयोग गर्नु भएको थियो ।

अन्तमा केही छ ?
समाजिक सञ्जालमा आएका विभिन्न विषयलाई लिएर किरात राई समुदाय चिन्तित नहुन आग्रह गर्दछु । संस्थाको आफ्नै विधि, विधान र प्रकृयाहरु हुन्छन । त्यो प्रकृया भित्र छिरेर कोही आएमा छलफल बहस र समस्याको समाधान हुनेछ । प्रचार हुदै आएको भ्रामक कुरामा लागेर धारणा नबनाउन समेत सबै सबैमा आग्रह गर्दछु । धन्यवाद ।।।

प्रकाशित : २६ भाद्र २०७६, बिहिबार ००:००