६ बैशाख २०८१, बिहिबार । April 18, 2024

छापा खबर

भीमेश्वर नगरपालिका क्षेत्र पुनः नापी हुने



भीमेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रको नाप नक्सा अद्यावधिक गर्ने भएको छ । द्वन्द्वको समयमा भएको क्षतिको नक्सा अद्यावधिक गर्नुपर्ने भएकाले सङ्घीय सरकारसँग समन्वय गरी पुनः नापी गरिने आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा उक्त नगरपालिकाले सो जानकारी दिएको हो । “विसं २०४९ मा नगर क्षेत्रको नापी भएको थियो । २०÷२० वर्ष पछि पुनः नापी गर्ने सरकारको नियम भए पनि हालसम्म नापी हुन नसकेकामा नगरपालिकाले जनपक्षीय निर्णय गरेकोमा हामी खुशी व्यक्त गर्दछौँ ।” नागरिक अगुवा चिरञ्जीवी मास्केले भन्नुभयो । नगरभित्रको सार्वजनिक र खुला क्षेत्र संरक्षण गर्न पनि नक्सा अद्यावधिक गर्नुपरेको बताउँदै नगरप्रमुख भरत केसीले भन्नुभयो, “नागरिकले आफ्नो सम्पत्ति सहजरुपमा रक्षा गर्न सकून् भन्ने उद्देश्यले नै यो योजना ल्याइएको हो ।” सदरमुकाम चरिकोट र आसपासमा रहेका जग्गा खरीद बिक्री गर्दा धेरै समस्या भएको गुनासो आएकाले सोहीअनुसार नगरपालिकाले नागरिकको समस्या समाधान गर्न यो योजना अघि बढाएको उहाँले जानकारी दिनुभयो । लालपुर्जा र नक्सामा भएको जग्गाको क्षेत्रफल फिल्डमा नहुने समस्याबाट आजित नगरवासीका लागि यो समस्या दीर्घकालीन रुपमा समाधान हुने भीमेश्वर नपा–३ का प्रकाश बस्नेतको भनाइ थियो । छरछिमेकमा जग्गाको विषयलाई लिएर हुने झगडा पुनः नापी पछि समाधान हुने उहाँले बताउनुभयो । –––

प्रकाशित : १० असार २०७६, मंगलबार ००:००