१२ चैत्र २०८०, सोमबार । March 25, 2024

मुख्य खबर

प्रसिद्ध धर्मगुरु शिवकुमार स्वामीको १११ बर्षमा निधन



नयाँ दिल्ली, ७ माघ। भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा सोमबार १११ बर्षका धर्मगुरु शिवकुमार स्वामीको निधन भएको छ ।

उहाँलाई शिद्धगंगा मठका स्वामीका रुपमा चिन्ने गरिएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।
सन्त शिवकुमारको विगत दुई हप्तादेखि अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो ।
कर्नाटकको राजधानी बेङ्गलोरदेखि झण्डै ७० किलोमिटर टाढा पर्ने टुमाकुरुमा रहेको अस्पतालमा उहाँलाई भर्ना गरिएको थियो ।
“आदरणीय सन्त स्वामीजीको आज बिहान ११.४४ मा निधन भएको छ । फोक्सोमा भएको संक्रमणको उपचार सफल हुन नसकेपछि उहाँको निधन भएको हो,” कर्नाटकका मुख्य मन्त्री एच.डी कुमारस्वामीले संचारकर्मीहरुसँग भन्नुभयो ।
स्थानीय सरकारी अधिकारीहरुले मंगलबार उहाँको अन्तिम संस्कार हुनसक्ने बताएका छन् । अन्त्यष्टिका क्रममा उहाँलाई राज्यको तर्फबाट पूर्ण सम्मान दिइने पनि अधिकारीहरुको भनाई छ ।
उहाँ लामो समयदेखि स्वासप्रश्वास सम्वन्धी समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँका समर्थकहरुले उहाँलाई “पृथ्वीमा भएका भगवान”का रुपमा व्याख्या गर्दथे । शिवकुमार स्वामीका लाखौको सङ्ख्यामा प्रवर्तक रहेका छन् ।
उहाँका समर्थकहरुले आफ्नो जीवनमा स्वामीकै कारण धेरै परिवर्तन र सकारात्मक प्रभाव परेको बताउने गर्छन् ।
उहाँलाई भारतका शिर्ष नेताहरुले पनि बेला बेलामा भेटेर आशिर्वाद लिने गरेका थिए भने अहिले उहाँको निधनको खवर पाएपछि दुःख व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत शोक सन्देश व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ,“धर्मगुरू डा श्री श्री श्री शिवकुमार स्वामिगालुका कार्यले उहाँ गरीब र पीडामा बाँचेका नागरिकको मुक्तिका लागि जन्मिनु भएको हो । उहाँले आफ्नौ सक्रियतामा गरिबी उन्मुलन, भोका जनता तथा सामाजिक न्यायका लागि प्रतिवद्ध धर्मगुरू हुनुहुन्थ्यो । यस घडीमा उहाँप्रति सम्मानसहित र उहाँका विश्वभरी छरिएर रहेका अनगिन्ती प्रवर्तकमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”

प्रकाशित : ७ माघ २०७५, सोमबार ००:००