१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

बिचार

सन्दर्भः पेगी फाङ्साम् विश्व सम्मेलन



अङ्ग्रेजी लिखतहरू हेर्दा संसारमा ’रिलिजन’ भन्नाले इसाई समाजको ख्रिस्टियन मै केन्द्रित हुन्छ । अपितु जुदाइज्म, इस्लामिज्म रिलिजन हुन भन्ने उनीहरूको मत छ। अरूको त के हिन्दु धर्मलाई पनि रिलिजन मान्न पश्चिमी प्राज्ञिक समाज तयार छैनन् ।

हुन पनि पर्सियनमा हिन्दु भनेको ईन्डियन भनेर बुझिन्थ्यो रहेछ। युरोपियनहरूले इन्डस नदीको सभ्यतामा विकसित समुदाय वा समाजलाई ईन्डियन भने इस्लाम बाहेक।

हिन्दुको कुरो गर्दा,१६औँ शताब्दी वरिपरि भारतवर्षमा आइपुगेका युरोपियनहरूको खोजी मान्छे नभै श्रोत र साधन थियो। तर आफू भन्दा फरक मान्छेहरू भेट्दा इस्लाम होइनन् भने ईन्डियन हुन भनेको कालान्तरमा हिन्दु भनिए। भारतवर्षमा बसोबास गर्नेले कालान्तरमा युरोपियनहरूबाटै शब्द सापटी लिएर आफूलाई आफूलाई हिन्दु भने।

इसाको पहिलो शताब्दी तिर मुगलको अतिक्रमणमा परेर सुरक्षित ठाउँ खोज्दै हिमालय पर्वतको खोजतिर भाग्दै लुक्दै आइपुगेका बैद्धिक आर्यहरूले यहाँ बसोबास गर्ने आदिवासी जनजातिलाई किराँत भने भन्ने भनाई छ । राउटे देखि नेवार सम्म बसोबास गरेका आदिवासी जनजातिहरूलाई किराँत भनेका थिए । यहाँ बसोबास गर्ने, आदिवासी जनजातिमा उनीहरूको आ’आफ्नै पहिचान छ, अपितु आर्यहरूले किराँत भनेकोलाई नै कतिपय आदिवासी जनजातिले आफूलाई २१ औँ शताब्दीमा पनि किराँत भन्छन्। आज आएर बैद्धिक आर्यहरूले भनेको किराँत पहिचान करिब १००० वर्ष पछि आदिवासी जनजातिमा रूपान्तरण भयो। नेपाल राज्यले तिनलाई किराँत नभनेर आदिवासी जनजाति,५९ समूहलाई पहिचान दिएको छ।

हिन्दु भनेर सम्पूर्ण भारतलाईनै लिपेको धार्मिक पहिचानले नेपाललाई पनि अछुतो राखेन। विशाल भारत हिन्दु अधिराज्य बनेन, तर नेपाललाई हिन्दु अधिराज्य ठकुरी राजाले भनिदिँदा आदिवासी जनजातिलाई पर्नु पिर पर्‍यो। त्यैबाट मुक्ति पाउन विशेषतः लिम्बु, याक्खा, राई, सुनुवार समुदायले सन् १९९१बाट किराँत धर्म लेख्न थाले। किराँत आदिवासी जनजातिको पर्याय हो, वा भिन्न ऐतिहासिक सांस्कृतिक महत्त्वको पहिचान हो।?

प्राचीन नेपालको इतिहास वेत्ताहरूले गोपालवंशी पछि राज गर्ने किराँत वँशी थियो, जुनलाई लिच्छवीहरूले चढाइ गरेको कारण किराँत वंशहरू पूर्व लागे भन्दा सुनुवार, राई, लिम्बु र याक्खाले आफू उनै किराँत राज्य चलाउने किराँत वंश राजा, महाराजाहरूको वर्तमान पुस्ता हो भन्ने विश्वास पनि गरेको पाइन्छ। पूर्व लागेकै हो भने तिनको वर्तमान पुस्ता लेप्चा, मेचे, कोचे, राजवंशी, थारू, लिम्बु, याक्खा, राई, सुनुवार, जी रेल, सुरले, पहरी हुन पनि सक्छन् । वा अरू कुनै जाति, जनजाति हुन पनि सक्छ। तर खास कुन चाहिँ जाति, वा जनजातिले ३२ पुस्ता काठमाडौँमा राज्य गर्ने किरातकालको वर्तमान पुस्ता हो।? खोजको विषय नै छ।

भारतीयहरूले आफू ख्रिस्टीयन, जुदाइज्म, इस्लाम होइन भनेर भन्न हिन्दु भने झैँ, लिम्बुले आफू बौद्धिक आर्य होइन भन्न किराँत धर्मावलम्बी भन्नु हात्ती र हात्ती छाप उस्तै हो जस्तो भयो। लिम्बुले आफू न ख्रिस्टियन, जुदाईज्व, इस्लाम हो, न बैद्धिक आर्यहरूले भनेको किराँत हो। बरु लिम्बुकै भाषा संस्कृति प्रचलनमा भएको युमा साम्यो हुँ भन्नु लिम्बुको सांस्कृतिक जागृत्तिको एउटा नयाँ अध्यायको उद्घाटन जस्तो लाग्यो। पश्चिमी बौद्धिक जगतले ’रिलिजन’ हुन त्यसमा ईश्वर हुनु पर्छ, त्यो धर्मको प्रवर्तक वा प्रोफेट हुनु पर्छ, एउटा आधिकारिक (अथोरोटाटिभ) शास्त्र (स्कृप्चर) हुन जरुरी छ भन्छ। जुन कुराको अभाव हिन्दु, बौद्ध, ताओ, कन्फ्युसियस तमाम धर्महरूमा छ भन्ने उनीहरूको दावा छ। त्यसको प्रतिवादमा हिन्दुले हजारौँ वर्ष देखिको भिन्न अभ्यास रिलिजन बन्नको लागि आवश्यक आधार भएको दावा प्रस्तुत गरेको छ।

एसियाको सन्दर्भमा अर्को एउटा तर्क रहेछ, रिचुएल्स। विश्वास (फैथ), रिचुअल्सको आधारमा एसियाली समाजको धार्मिक मत, पन्थ, समूह हुने कुरो थियोलोजिस्टहरूको तर्क छ। त्यसको अर्थ, लिम्बुको आफ्नो रिचुअल्स जुन सवाल साम्वा, याफोक्को येवा् येमा, फेजिरी फेदाङ्व, र तुतु तुम्याङ, नु याक्ला सुहाङहरूले सम्पादन गर्ने विभिन्न प्रकारको जुन कर्म, रिचुअल्सहरू छन् तिनको आधारमा लिम्बुको आफ्नै भिन्न विशिष्टता छ।

युमा साम्यो महासभाको दलिल के बुझियो भने रिचुअलिस्ट लिम्बुहरूको अत्यन्त महत्त्वपूर्ण कर्म जुन तुतुतुम्याङ्, फेजीरि फेदाङ्म, सावाला साम्व, याफोक्को येवा् येमाले सम्पादन गरिरहेको रिचुअल्सको संरक्षण र संवर्धन गर्दै आफ्नो भिन्न पहिचान जोगाउन लागौँ, भन्ने रहेछ। त्यसको लागि तुम्याहाङहरूले पनि आ’आफ्नो मुन्धुमी भूमिका लिन पर्‍यो, साम्वा, येवा, येमा, फेदाङ्वाले पनि आ’आफ्नै भूमिकामा बस्ने बित्तिकै लिम्बुको सांस्कृतिक जागृति हुन्छ भन्ने रहेछ।

यो अर्थमा पेगिफाङ्सामको ३ दिने चुम्लुङ लिम्बु आदिवासी जनजातिको लागि महत्त्वपूर्ण भएको पाएँ। अरूले के अनुभव गर्नु भयो, कुरो गर्दै जाऊँ। बालकृष्ण माबुहाङको  facebook वालबाट

प्रकाशित : १ माघ २०७५, मंगलबार ००:००