१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

आठ सय रोपनीभन्दा बढी खेत बगायो



गुल्मी, १५ भदौ । वर्षासँगै आएको बाढीले गुल्मीमा सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गत दुई साताको अवधिमा कालीगण्डकी, बडिगाढ, हुग्दी, रिडी, छल्दी, पनाहालगायतका खोलामा आएको बाढीले उक्त क्षति पु¥याएको हो । बडिगाढ खोलामा आएको बाढीले सबैभन्दा धेरै धानसहितको खेतमा बढी क्षति पु¥याएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार मुसिकोट नगरपालिकाको राक्से, ढाँब, बौवा, गुल्मी दरबार गाउँपालिकाअन्तर्गत बलिथुम, रुरु गाउँपालिकाअन्तर्गत बम्घालगायतका स्थानमा ८२० रोपनीमा लगाएको धानसहितको खेत बाढीले बगाएको छ । बलिथुममा खेतसँगै सिंगो गाउँ जोड्ने मोटरबाटोसमेत खोलाले कटान गरेर लगेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतमा थप समस्या परेको छ ।

धान रोपेको सबै खेत बगाइदिएपछि बलिथुम माझी गाउँका बासिन्दालाई नजिकैको मजुवा बजारसम्म आवतजावतमा समस्या परेको छ । उनीहरु यतिबेला बजारसम्म पुग्नका लागि गाउँको घुमाउरो बाटो हिँड्न बाध्य छन् । बलिथुममा मात्र झण्डै ३० रोपनी खेत बडिगाढ खोलाले बगाइदिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणि पन्थीका अनुसार जिल्लाभर बाढी र पहिरोले ८२० रोपनीभन्दा बढी धानखेतमा क्षति पु¥याएको छ । पन्थीका अनुसार बडिगाढ, छल्दी र खज्र्याङ खोलाले धेरै क्षति पु¥याएको हुँदा कार्यालयबाट क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ । वर्षाले कतिपय स्थानमा बिजुलीका पोल पहिरोले पुरिदिएका कारण टेलिफोन सम्पर्कमा समस्या परेकाले कृषिमा पुगेको क्षतिको विवरण संकलन गर्न ढिला भएको कार्यालयले जनाएको छ ।

वर्षाले सदरमुकाम जोड्ने रिडी–तम्घास सडकबाहेक अन्य अधिकांश सडकमा यातायात सञ्चालन गर्न समस्या परेको गुल्मी यातायात व्यवसायी समितिका अध्यक्ष झकबहादुर मिदुनले बताउनुभयो । यसपटक मुसिकोट नगरपालिकामा पहिरोमा परेर एक घर र एक गोठसहित केही बस्तुभाउ मरे पनि अन्य कुनै मानवीय क्षति नभएको प्रजिअ कृष्णप्रसाद ढुंगानाले जानकारी दिनुभएको छ ।

सदरमुकाम तम्घास नजिकै कुँडापानीमा पहिरोका कारण १६ घर जोखिममा परेका छन् भने कालीगण्डकी गाउँपालिकाअन्तर्गत अर्वेनीमा जमिन भासिएपछि १६ घर पूरै विस्थापित भएको वडाध्यक्ष देवी न्यौपानेले बताउनुभयो ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००