११ बैशाख २०८१, मंगलबार । April 23, 2024

मुख्य खबर

अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइ अभियान सुरु



काठमाडौँ, १५ असार । मुलुकको प्रतिष्ठासँग जोडिएको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधुनिक गुणस्तरीय बनाउन सरसफाइ अभियान सुरु गरिएको छ ।

बिमानस्थलको सरसफाइ गरी पर्यटकको नेपाल आगमनलाई आनन्दमय बनाउने उद्देश्यसहित ‘अतिथि देवो भवः’ अभियानअन्तर्गत गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० सँगको सहकार्यमा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले संयुक्त रुपमा सो अभियान सुरु गरिएको हो ।

एक महिनासम्म चल्ने अभियानमा सरसफाइसम्बन्धी दक्ष मजदुर र आधुनिक प्रविधिको प्रयोग गरिनेछ । अन्तर्राष्ट्रिय विमानस्थललाई आधुनिक सरसफाइको नमुना बनाइने अभियानका संयोजक खेम्स क्लिनर्स सर्भिसेसका अध्यक्ष खेम शर्माले बताउनुभयो ।

सफाइ अभियानको शुभारम्भ कार्यक्रममा क्यानका महानिर्देशक सञ्जीव गौतमले विमानस्थलको सरसफाइ निरन्तर प्रक्रिया भएको र यसलाई परिणाममुखी बनाउन सबै क्षेत्रको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

“सरसफाइ ठूलो कुरा होइन, निरन्तरको प्रयासपछि निकै प्रगति भए पनि हामी खुसी छैनाँै कामप्रति हामी बारम्बार आलोचित पनि छाँै, जबसम्म यात्रु खुसी हुँदैन, तबसम्म यसले सार्थकता पाउँदैन”– उहाँले भन्नुभयो ।

विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले विमानस्थल साँघुरो र यात्रुको चापले गर्दा सरसफाइदेखि अन्य कुरामा समेत चुनौती थपिँदै गएको उल्लेख गर्दै सफाइ अभियानलाई साता, महिना दिन नभई निरन्तर अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सरसफाइ सभ्यताको मापन र अतिथ्यताको सबैभन्दा ठूलो मापन हो भन्दै सरसफाइ अभियानलाई परिणाममुखी बनाउनमा सबैको सक्रियता चाहिने खाँचो औँल्याउनुभयो ।

एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा नेपाल पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भवन भट्टले देशको प्रतिष्ठासँग जोडिएको अन्तर्राष्ट्रिय विमानस्थल विदेशीको प्रवेशद्वार भएको र विमानस्थलबाटै विदेशीले समग्र धारणा बनाउने भएकाले सरसफाइदेखि अन्य सेवालाई गुणस्तरीय बनाइनुपर्ने बताउनुभयो ।

विमानस्थल सरसफाइ विभागका प्रमुख रोहिणी भट्टराईले विमानस्थलको सरसफाइ देशको पहिचान भएकाले विदेशी प्रविधिको प्रयोग गरी सफाइ अभियानलाई गुणस्तरीय बनाइने उल्लेख गर्नुभयो ।

त्रिअविका प्रहरी नायब महानिरीक्षक पंकज श्रेष्ठले सरसफाइ अभियानलाई निरन्तर र परिणाममुखी बनाइनुपर्नेमा जोड दिनुभयो ।

एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक सोनाम लामाले देशको गौरवका रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइमा एनआरएनको सदैब सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय एवम् एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा नेपाल पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भवन भट्टबीच हस्ताक्षरित सहमति बमोजिम आजबाट सो अभियान सुरु भएको हो ।

‘टिआइए’ मोबाइल एप्स सार्वजनिक

यात्रुको सुविधालाई मध्यनजर गर्दै त्रिअविले जानकारीमूलक मोबाइल एप्स सार्वजनिक गरेको छ । उक्त एप्समा विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानसम्बन्धी आगमन र प्रस्तावबारे सम्पूर्ण जानकारीका साथै विमानस्थलका अन्य गतिविधिबारे पनि सामग्री रहने जनाइएको छ ।

क्यानका महानिर्देशक गौतमले मोबाइल एप्स सार्वजनिक गर्नुभएको हो । सोही अवसरमा एनआरएनकातर्फबाट सरसफाइ सामग्री क्यानलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००