१० चैत्र २०८०, शनिबार । March 23, 2024

मुख्य खबर

सत्तरी प्रतिशत मतदान भयो : आयोग



काठमाडौँ, १४ असार । आज सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कम्तीमा ७० दशमलव ५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आज मतदान सम्पन्न भएका ३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणअनुसार कम्तीमा ७० दशमलव ५ प्रतिशत मतदान भएको र यो आँकडा अझ बढ्नसक्ने जानकारी दिनुभयो ।

आज निर्वाचन भएका ३५ जिल्लामध्ये सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको उहाँले बताउनुभयो । प्रदेश नं १, ५ र ७ गरी ३५ जिल्लाका ३३४ स्थानीय तहका कुल आठ हजार ३६४ मतदान केन्द्रमध्ये बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र ‘क’, ‘ख’ बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको आयोगले जनाएको छ । सो मतदान केन्द्रमा वृद्ध मानिसले सहयोगी लगेको सम्बन्धमा विवाद भएपछि मतदान स्थगित भएको हो ।

सोलुखुम्बुको नेचा गाउँपालिका–६ मा स्थानीय राजनीतिक दल र जनताले गाउँपालिकाको स्वरुपप्रति असहमति जनाउँदै मतदानमा भाग लिएनन् भने नलवपरासी सरावल गाउँपालिकाको वडा नं ६ को जनता मावि भुजहवा मतदान केन्द्रमा दुई मत मात्र खसेको छ ।

मतदाताले लोकतान्त्रिक अभ्यासमा जनाएको व्यापक सहभागिताप्रति आभार प्रकट गर्दै प्रमुख आयुक्त डा यादवले आममतदातामा धन्यवाद ज्ञापन गर्नुभयो । निर्वाचन विरोधीले केही ठाउँमा राखेका बमलाई निस्कृय बनाउन र मतदान कार्यमा बाधा पु¥याउने व्यक्तिलाई नियन्त्रणमा लिई निर्वाचन कार्यलाई सफल बनाउनमा सुरक्षाकर्मीले समयमा नै देखाएको तदारुकताका कारण मतदान कार्यमा अधिकाधिक सहभागिता बढाएको भन्दै आयोगले सुरक्षाकर्मी एवम् अन्य सरोकारवालालाई धन्यवाद दिएको छ ।

मतदान कार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिका सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि राजनीतिक दलहरुसँग समन्वयमा मतगणना कार्य आजैदेखि अगाडि बढाइने आयोगले जनाएको छ ।

मतदान कार्यलाई सफल बनाउन कठिन परिश्रमका साथ अहोरात्र खटिनुभएका निर्वाचन आयोगका कर्मचारी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिृकत र अन्य कर्मचारी तथा सुरक्षाकर्मीलगायतलाई आयोगले धन्यवाद दिएको छ ।

मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयमता प्रदर्शन गर्न तथा लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिबद्धतालाई पुनः अभिव्यक्त गर्न आयोगले सबै सरोकारवालासँग आग्रह गरेको छ ।

मतगणना छिटो गर्ने व्यवस्था मिलाइने
प्रमुख आयुक्त डा यादवले प्रथम चरणको निर्वाचनको अनुभवको आधारमा यसपटक मतगणना छिटो सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो । छिटो मतदान सम्पन्न गर्न आवश्यक जनशक्तिको व्यवस्थापन गर्न, भौतिक सुविधा र सुरक्षा व्यवस्था मिलाउन निर्वाचन अधिकृत र स्थानीय प्रशासनलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

निर्वाचन आचारसंहिता पालनामा सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले यस विषयलाई आयोगले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँका अनुसार आयोगमा लिखित, मौखिक जानकारी वा कुनै सञ्चारमाध्यमबाट आएको जानकारीका आधारमा आचारसंहिताबारे अनुगमन गर्ने गरिएको छ ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००