१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

निर्वाचित जनप्रतिनिधिलाई बजेटबारे प्रशिक्षण



काठमाडौँ, १४ असार । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पहिलो चरणमा स्थानीय तहको निर्वाचन भएका ३४ जिल्लाका निर्वाचित जनप्रतिनिधि, प्रमुख कार्यकारी अधिकृत वा प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई बजेट निर्माण तथा कार्यान्वयनबारे प्रशिक्षण दिएको छ ।

सरकारले मुलुकको नयाँ संरचनानुसार बजेट विनियोजन गरेपछि त्यसैका आधारमा स्थानीय तहमा पनि बजेट निर्माण र कार्यान्वयन गर्नुपर्ने भएकाले उनीहरुलाई विज्ञद्वारा प्रशिक्षित गरिएको हो ।

यही असार २५ गतेभित्र नगर तथा गाउँसभा बस्नुपर्ने, असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने र आगामी साउन १ गतेदेखि कार्यान्वयन गर्ने गरी बजेट निर्माणका आधार, स्रोत तथा साधन, बजेटका लागि आम्दानी र खर्चका लागि प्राथमिकता तथा सैद्धान्तिक आधारका बारेमा जानकारी गराइएको मन्त्रालय, योजना महाशाखाका उपसचिव चिरञ्जीवी तिम्सिनाले जानकारी दिनुभयो ।

मन्त्रालयले आज एक दिनको पाठ्यक्रम बनाई सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेकाहरुबाट बजेटमा केन्द्र र स्थानीय तहको समन्वय तथा साधनको बाँडफाँटका विषयमा पनि जानकारी दिइएको छ । यसअघि मन्त्रालयले जनप्रतिनिधि तथा कार्यकारी अधिकृतलाई स्थानीय तहको विकास तथा पूर्वाधार निर्माणमा प्राथिमकता दिनुपर्ने आधारका बारेमा अभिमुखीकरण गराएको थियो ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००