७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

मिथिला चित्रकलामा नयाँ पुस्तालाई आह्वान



जनकपुरधाम, १४ असार । मिथिला चित्रकलालाई जीवन्त राख्नका लागि पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिइएको छ ।

बिपी कोइराला भारत–नेपाल फाउन्डेसनद्वारा यहाँ आज आयोजित छलफल कार्यक्रममा सहभागीले मिथिला चित्रकलामा नयाँ पुस्ताको आकर्षण अभिवृद्धिका लागि आधुनिक प्रविधिसँग हातेमालो गर्दै बजारीकरणतर्फ ध्यान दिनु जरूरी रहेकामा जोड दिनुभयो ।

परम्परागत रूपले परिवारमा हस्तान्तरित हुँदै आएको यो कलामा वर्तमानमा नयाँ पुस्ताको सहभागिता उत्साहजनक नभएका कारण कला मरेर त जाने होइन भन्ने चिन्तासमेत सहभागीले व्यक्त गरेका छन् ।

डा हरिवंश झाले मिथिला चित्रकला प्रकृतिमा आधारित भएकाले यसलाई विश्व बजारमा प्रवद्र्धनका लागि सरकारी प्रयासको आवश्यकतामा जोड दिँदै व्यक्तिगत रूपले कतिपय कलाकारले मिथिला चित्रकलामार्फत सन्तोषजनक आयआर्जन गरे पनि समग्रमा यसप्रति समर्पित कलाकारको आर्थिक पक्ष निकै कमजोर रहेको बताउनुभयो ।

प्रा डा भोगेन्द्र झाले मिथिला चित्रकलालाई सरकारी संरक्षण, कच्चा पदार्थमा सरकारी सहुलियत र कलाकारको अधिक सहभागिताका लागि रोजगार एवम् अवसरको व्यवस्थापनको खाँचो औँल्याउनुभयो ।

कलाकर्मी सुनिल मल्लिकले मिथिला चित्रकलामा लागेकाहरुको सीपलाई उचित सम्मान प्राप्त नभएका कारण तिनको जीवनस्तर कहालीलाग्दो भएको बताउनुभयो ।
कलाकार सुधीरा, सुनयना, इन्दुले पारिवारिक अनेक समस्या भए पनि मिथिला चित्रकलामा जीवन समर्पण गरेको तर नयाँ पुस्तामा भने यस कलाप्रतिको विमुखताले चिन्ता लागेको धारणा राख्नुभयो । अध्येता चित्रकला झा, अतुल ठाकुर र वसन्त ठाकुरले यसको बजारीकरण र उद्यमशीलताको विकासका लागि उपायको पहिचानको प्रयास गर्नु आवश्यक छ भन्नुभयो ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००