८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

भक्तपुरका पत्रकारद्वारा सुरक्षाको माग



भक्तपुर, १४ असार । भक्तपुरका क्रियाशील पत्रकारले निष्पक्ष रुपमा गरिने समाचार सङ्कलनका क्रममा सुरक्षा चुनौती थपिँदै गएपछि सुरक्षाको माग गरेका छन् ।

मङ्गलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मध्यमाञ्चल क्षेत्रीय कार्यालय, काठमाण्डौँ, नेपाल पत्रकार महासङ्घ, भक्तपुर र क्रियाशील पत्रकार मञ्च भक्तपुरले मङ्गलबार भक्तपुरको रेडक्रसमा आयोजना गरेको ‘पत्रकार र सुरक्षा’ मिडिया साझेदारी बैठकमा सहभागी पत्रकारले सुरक्षाको माग गरेका हुन् ।

द्वन्द्वकालमा जस्तै अहिले पनि निष्पक्षरुपमा समाचार सङ्कलन र सम्प्रेषणका क्रममा विरोधी पक्षद्वारा जागिर खोसिदिने, कुटपिट गर्ने, ज्यान मार्ने र गाउँ निकाला गर्नेसम्मको धम्की आएको भन्दै सुरक्षाको माग गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीले पैसा र बलको ताकतमा पत्रकारलाई धम्क्याउने प्रवृत्ति बढेको बताउँदै सुरक्षित भएर पत्रकारिता गर्ने वातावरण सृजना हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले पत्रकारमाथि हातपात हुने र धम्की आउने कार्यको जानकारी गराएपछि सम्बन्धित सञ्चार गृह, नेपाल पत्रकार महासङ्घ, प्रशासन र सरकारले सञ्चारकर्मीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं)ले पत्रकारमाथि हुने आक्रमण र धम्कीलाई पत्रकार महासङ्घले लुकाएर राख्न नहुने बताउँदै विज्ञप्ति निकाल्नमै मात्र सीमित नभई कारबाही गराउनेसम्मको पहलकदमी महासङ्घले लिनुपर्ने आँैल्याउनुभयो ।

कार्यक्रममा लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजका अध्यक्ष पेसल आचार्यले पत्रकारमाथि भएको आक्रमण र धम्कीका बारेमा जानकारी गराउँदा पनि प्रहरी प्रशासनले जिम्मेवारी बहन नगर्दा त्यस्ता तत्व हाबी हुँदै गएको बताउँदै यसलाई रोक्न सबै निकाय सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

इन्सेक, मध्यमाञ्चल क्षेत्रीय कार्यालयका प्रलेख अधिकृत राजु पासवानले समाचार लेखेकै भरमा पत्रकारमाथि हुने हातपात र धम्कीका विरुद्ध लाग्न तथा उनीहरुलाई कारबाही गर्न बाध्य पार्न प्रहरी प्रशासनलाई दबाब दिने कार्यका लागि पत्रकार एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार प्रवीणराज जोशी, हेमराज ढकाल, जयराम बास्तोला लगायतले सञ्चारकर्मीले सुरक्षित भएर समाचार लेख्ने अवस्था सृजना नभएसम्म गलत तत्व पत्रकारमाथि हाबी हुने प्रतिक्रिया दिनुभयो ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००