१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

महिलाको मृत्यु भएपछि इटहरी तनावग्रस्त



इटहरी, १३ असार । इटहरी उपमहानगरपालिका–४ मा रहेको अग्र्यानिक रेस्टुरेन्टमा एक महिला सोमबार बिहान मृत अवस्थामा फेला परेको विषयलाई लिएर आज इटहरी निकै तनावग्रस्त बन्यो ।

नेपाली सेनाका पूर्वजर्नेल एवम् संविधानसभामा नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नुभएका कुमार फुदोङ्गको घर रहेको उक्त स्थानमा गोरखा आँबुखैरेनी घर भई सोमबार बिहान ८ बजेतिर आइपुगेकी २९ वर्षीया सजिता शाही ठकुरीको १० बजेतिर सोही रेस्टुरेन्टको पोखरीका डिलमा मृत अवस्थामा लास फेला परेको थियो ।

छ वर्षअघि रञ्जित थापामगरसँग विवाह गरेर घर बाहिरै बस्दै आएका श्रीमान्–श्रीमती नै केही वर्षअघि सोही रेस्टुरेन्टमा काम गरेर बन्द भएपछि यहाँबाट बाहिर गएको र सोमबार ती महिला मात्र अकस्मात त्यहाँ आएर केही समय बसेर घुम्न गएको अवस्थामा मृत फेला परेकी थिइन् ।

घटना केही शङ्कास्पद भएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको अवस्थामा आक्रोशित भीडले पूर्वजर्नेल फुदोङ्गले नै हत्या गरेको आरोप लगाउँदै प्रहरीमाथि पक्राउ गरी कार्वाही गर्न दबाब दिँदै दिनभरि नै नारा, जुलुस र चक्काजामसमेत गरेका थिए । अपराह्नतिर सडक आन्दोलन र इलाका प्रहरी कार्यालय घेराउपछि उक्त स्थानमा पुगेका आक्रोशित जत्थाले फुदोङ्गको घर तोडफोडसँगै ढुङ्गा प्रहार गर्दा घरको झ्यालको सिसा फुटेर फुदोङ्गको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

फुदोङ्गको घरमा ढुङ्गा प्रहार गर्ने र दिनभरि सडकमा तनाव सिर्जना गर्ने जत्था मध्येका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक सोधखोज र छानबिन गरिरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिँदै घटना केही शङ्कास्पद भएकोले घटनाका विषयमा गहन अध्ययन भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००