८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

 जैैविकमार्ग र वन्यजन्तुको सुरक्षा गर्न अब संयुक्त सुरक्षा पोस्ट



रत्ननगर (चितवन), १३ असार । चितवनको भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने टिकौली जङ्गलको जैविक मार्ग र यहाँका वन्यजन्तुको सुरक्षा गर्न चितवन राष्ट्रिय निकुञ्जले ‘संयुक्त सुरक्षा पोस्ट’ राख्ने भएको छ ।

यही असार ५ गते ‘जैैविकमार्ग र वन्यजन्तुको सुरक्षा चुनौतीपूर्ण’ भन्ने शीर्षकमा राससमार्फत समाचार सार्वजनिक भएपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा पोस्ट स्थापना गर्न लागेको हो ।

नेपाली सेना र निकुञ्जका कर्मचारीसहित पाँचजना बस्ने गरी टिकौली जङ्गलको बीचमा पोस्ट स्थापना गर्ने प्रक्रिया थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

“अब गाडी आवतजावतको पनि निगरानी गर्छौं, कारबाही चलाउँछौँ र जरिवाना पनि लिन्छौँ” कँडेलले भन्नुभयो, “असार महिनाभित्रैमा पोस्ट स्थापना गरेर जैविक मार्गको सुरक्षा कडा पार्दैछौँ ।” चितवन निकुञ्जको चुरे र महाभारत पहाड जोड्ने जैविकमार्ग चितवनको टिकौली जङ्गलबाट बाघ, गैँडा, चित्तल, जरायोलगायत संरक्षित वन्यजन्तु दैनिकजसो नै आउजाउ गर्छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने यो जैविकमार्ग (कोरिडोर) संरक्षणका हिसाबले अतिसंवेदनशील मानिन्छ । गएको वर्ष टिकौली जङ्गलको झन्डै सात किलोमिटर क्षेत्रमा १० वटा सिसी क्यामेरा जडान गरेर निगरानी सुरु गरिएपनि अहिले प्रभावहीन हुँदा सुरक्षा चुनौतीपूर्ण छ ।

आवश्यक निगरानी नहुँदा गएको वर्ष १३ वटा वन्यजन्तुमाथिका घटनामा जम्मा तीन वटामामात्रै कारबाही भएको पाइएको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सवारी चालकलाई यहाँको संवेदनशीलताबारे जानकारी दिई नियमन गर्ने, गाडी रोक्न नदिने, विस्तारै चलाउन लगाउने र गल्ती गरे कारबाही गर्ने, फोहर व्यवस्थापनलगायत उद्देश्यले ठूलो लगानीमा राजमार्गका विभिन्न क्षेत्रमा क्यामेरा जडान गरिएको थियो ।

निगरानी गर्ने निकाय नहुँदा संरक्षणमा चुनौती बढेका बेला अब भने सेना नै बसेर टिकौली क्षेत्रको निगरानी गरिन लागिएको हो । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक पोस्ट स्थापनाका लागि तयारी भइरहेको बताउनुहुन्छ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले समाचारलाई ध्यानमा राखेर तत्कालै अस्थायीरुपमै भएपनि पोस्ट राखेर निगरानी गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार अहिले चितवन निकुञ्जमा ५७ वटा सुरक्षा पोस्ट रहेका छन् ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००