१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

मतदातालाई मत बदरको चिन्ता



बैतडी, १२ असार । बदर मत घटाउने उद्देश्यले निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम जिल्लामा प्रभावकारी रुपमा हुन नसकेको गुनासो आएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अत्याधिक मतपत्र बदर भएपछि दोस्रो चरणको चुनावका लागि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन निर्वाचन आयोगले निर्देशन दिएको थियो । तर पनि कतिपय ठाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकिएको पाइएको छ ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको भनिए पनि आपm्नो घरदैलोमा सो कार्यक्रमका लागि स्वयंसेवक नपुगेका स्थानीयवासीले गुनासो गरेका छन् । चुनावी रौनक छाए पनि मतदान गर्नेबारे अहिलेसम्म कसैले नसिकाएको दोगडाकेदार गाउँपालिका– ५ न्वालीका दुर्गा भुलले बताउनुभयो ।

“चुनावमा मतपत्र ठूलो हुन्छ भन्ने सुनेकी छु, मतपत्र नदेखेकाले मत बदर हुने हो कि भन्ने चिन्ता छ,” उहाँले भन्नुभयो । यहाँका मतदाताले मतदान कसरी गर्ने भन्ने विषयमा अनभिज्ञ रहेको बताएका छन् ।

यस्तै दोगडाकेदार गाउँपालिका–६ पञ्ज्यूनयाँका जैता कार्की आफ्नो गाउँमा मतदान गर्ने तरिका बारेमा कसैले पनि नसिकाएको बताउनुहुन्छ । एउटै मतपत्रमा सातजना उम्मेदवारलाई भोट दिनेबारे उहाँ निकै अन्योलमा हुनुहुन्छ ।

जिल्लामा १७४ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको भए पनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको विभिन्न ठाउँका मतदाताले गुनासो गरेका छन् । तर जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँल जिल्लाका सबै स्थानीय तहमा मतदाता शिक्षा स्वयंसेवक पठाएको र मतदान गर्ने तरिकाबारे सिकाएकोे बताउनुहुन्छ ।

“मतदाता शिक्षा नपुगेका मतदाताका लागि आइतबारदेखि मङ्गलबारसम्म मतदाता परिचयपत्र वितरण भइरहेको सम्बन्धित मतदानकेन्द्रमा पनि मतदान गर्नेबारे सिकाउने काम भइरहेको छ,” उहाँले भन्नुभयो ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००