७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

लमजुङमा घरेलु उद्योग बढे



बेँसीसहर (लमजुङ), १२ असार । लमजुङमा घरेलु तथा साना उद्योगमा व्यवसायीको आकर्षण बढेको छ ।

घरेलु तथा साना उद्योग विकास समितिका अनुसार हालसम्म जिल्लामा दुई हजार २६२ घरेलु उद्योग दर्ता भइसकेका छन् । सञ्चालनमा रहेका पुराना तथा नयाँ गरी जिल्लामा सो सङ्ख्यामा घरेलु उद्योग रहेको कार्यालय प्रमुख लक्ष्मीप्रसाद दाहालले बताउनुभयो ।

चालु आर्थिक वर्षमा मात्रै जिल्लामा १८५ वटा घरेलु तथा साना उद्योग खुलेका छन् । अघिल्लो आर्थिक वर्षमा जिल्लामा १०० को हाराहारीमा उद्योग दर्ता भएका थिए । जिल्लामा दर्ता भएका अधिकांश उद्योगमध्ये कृषि फर्म, कृषि औजार, ब्यूटिपार्लर, पर्यटन, दालमोठ उद्योग, बेकरी उद्योग, सिलाइकटाई, कुटानीपिसानी, अलँैची, बङ्गुर फार्म, मौरीपालन उद्योगलगायत छन् ।
जिल्लामा केही पानी उद्योग र इँट्टा उद्योग बाहेक ठूला लगानीका र ठूला मात्रामा उत्पादन गर्ने उद्योग छैनन् । तर उत्पादनमूलक साना उद्योग थपिने क्रम भने बढेको छ । चालु आर्थिक वर्षमा मात्रै १२७ वटा कृषि फर्म थपिएको दाहालले बताउनुभयो ।

कृषिमा सरकारको प्राथमिकतासँगै युवापुस्ताकोसमेत आकर्षण बढेको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००