१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

शान्ति र समृद्धिका लागि काँग्रेस–माओवादी गठबन्धनः नेता पौडेल



बुटवल, ११ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेसम्मका सबै परिवर्तनकारी आन्दोलनको नेतृत्व काँग्रेसले मात्र गरेको भन्दै उहाँले स्थानिय तहको निर्वाचनबाट पनि काँग्रेसकै नेतृत्व स्थापित हुने बताउनु भएको छ ।

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संयुक्तरुपमा आज यहाँको राजमार्ग चौराहामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले शान्ति र समृद्धिका लागि काँग्रेसले भूमिका खेल्ने भन्दै नेकपा (माओवादी केन्द्र)सँग सरकारजस्तै स्थानीय निर्वाचनमा पनि तालमेल भएको बताउनुभयो ।

उहाँले अहिलेको आवश्यकता नै तराई र पहाडका जनताबीच एकता भएकोमा जोड दिनुभयो । पौडेलले पहाडी र मधेसी जनताबीच हातेमालो गराई देशलाई माथि उठाउन सक्ने शक्ति काँग्रेस मात्र भएको जिकिर गर्नुभयो । उहाँले एमालेले जहिले पनि देशमा द्वन्द्व बढाउन खोजेको आरोप लगाउनुभयो ।

सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता चन्द्रप्रकाश खनालले गठबन्धन संस्कार इमान्दारीका साथ पालना गर्न काँग्रेससँग आग्रह गर्नुभयो ।

सभामा काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँण, केन्द्रीय सदस्य धनराज गुरुङ, सांसद अब्दुल रज्जाक, भावना शर्मालगायतले बुटवलको विकास र समृद्धिका लागि ‘काँग्रेस–माओवादी’ गठबन्धनको बिकल्प नभएको बताउनुभयो ।

सभालाई काँग्रेसका बुटवल उपमहानगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, उपप्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका जगत पोख्रेललगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००