७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

हाइड्रोपोनिक्स प्रविधिलाई प्रवद्र्धन गरिने



काठमाडौँ, १० असार । माटोबिना ट्रेमा पानी हालेर घाँस, फलफूल र तरकारी उमार्ने प्रविधि हाइड्रोपोनिक्सलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिइएको छ ।

हाइड्रोपोनिक्स नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा कृषि विकास मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा योगेन्द्र कार्कीले जापान र कोरिया भ्रमणमा गएकाबेला यो प्रविधिबाट तरकारी, फलफूल र घाँस उमारिएको पाएपछि आफूले नेपालमा पनि भित्र्याउन खोजेको जानकारी दिनुभयो ।

“आर्थिक वर्ष २०७४÷२०७५ को नीति तथा कार्यक्रम र बजेटमा पनि यो प्रविधिलाई प्रवद्र्धन गर्न बजेट छुट्याइएको छ, यसले कम खर्चमा थोरै जनशक्तिका भरमा तरकारी, फलफूल र घाँस उत्पादन गर्न सकिन्छ” – उहाँले भन्नुभयो ।

रु ४० हजारकै लगानीमा पाँचजनाको परिवारलाई पुग्ने फलफूल र तरकारी यो प्रविधिबाट एक हप्तामै उमार्न सकिने प्रवक्ता कार्कीले सुनाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय चरण तथा पशु आहार केन्द्रकी प्रमुख डा नम्रता सिंहले कम सिँचाइ र जनशक्तिले पनि यो पद्धतिबाट फलफूल, तरकारी र घाँस उत्पादन गर्न सकिने अनुभव सुनाउनुभयो ।

कार्यक्रममा हाइड्रोपोनिक्स केन्याका निर्देशक पेट चेज, हाइड्रोपोनिक्स नेपालका अध्यक्ष नीलमणि सापकोटा र खरायो सहकारी अभियानका अध्यक्ष रामु पण्डितले जमारे घाँस प्रविधि पनि भनिने हाइड्रोपोनिक्सबाट रोपिने फलफूल अरुभन्दा राम्रो हुने जानकारी गराउनुभयो ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००