११ चैत्र २०८०, आइतबार । March 24, 2024

Uncategorized

इलामका चुनावी सभामा केन्द्रीय नेता



इलाम, १० असार । स्थानीय तहको निर्वाचन हुने दिन आउन चार दिन बाँकी छँदा इलाममा चुनावी माहोल ह्वात्तै बढेको छ ।

राजनीतिक दलका नेता–कार्यकर्ता चुनावी प्रचारप्रसारमा गाउँ÷गाउँ पसेका छन् । गाउँ पुगेर उनीहरुले नागरिकलाई चुनावबारे जानकारी गराउँदै आफ्नो पक्षमा मत माग्न थालेका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले विगत एक सातादेखि नै विभिन्न गाउँपालिकामा भएका चुनावी सभामा व्यस्त हुनुहुन्छ । उहाँहरुले पार्टीका स्थानीय नेता–कार्यकर्तासँग बाक्लो भेटघाट गगर्दै पार्टीका उम्मेदवारलाई जिताउन आग्रहसमेत गरिरहेका छन् ।

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका वरिष्ठ नेता इलाम क्षेत्र नं.– १ बाट तथा एमालेका नेता नेम्वाङ निर्वाचन क्षेत्र–२ बाट विजयी हुनुभएको थियो । दुबै नेताले चुनावी गतिविधिलाई तिव्रता दिएको छ ।

चुनावमा भाग लिन नागरिकलाई आग्रह गर्दै जिल्लादेखि नगर, गाउँ र वडा कमिटी सबैलाई परिचालन गरिएको एमाले जिल्ला सचिव महेश बस्नेतले बताउनुभयो ।

यसैगरी नेपाली काँग्रेसका जिल्ला तहका नेता–कार्यकर्ता यतिबेला चुनावी चटारो लिएर गाउँ पुगेका छन् । जिल्ला सभापति तथा इलाम नगरपालिकाका प्रमुखका उम्मेदवार हिमालय कर्माचार्यसहितका नेता÷कार्यकर्ता गाउँ–गाउँ पुगेर मतदातासँग साक्षात्कार गरिरहेको काँग्रेस जिल्ला सचिव निरोज खड्गीले बताउनुभयो ।

काँग्रेस युवा नेता गगन थापाले पनि पार्टीको चुनावी प्रशिक्षण तथा चुनावी सभामा सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ । उहाँले इलामको देउमाई, इलाम र माइनगरपालिकाका चुनावी सभामा सहभागी भएर प्रशिक्षण दिनुभयो । २०७० सालको संविधानसभा चुनावमा नेपाली काँग्रेसबाट– ३ नम्बर क्षेत्रका सांसद बन्नुभएका केशव थापा पनि गाउँ–गाउँ पुग्नुभएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन गाउँ÷नगरका मतदाताको घरदैलोमा पुगेर मत माग्ने गरेको सांसद थापाले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)ले पनि जिल्लामा चुनावी तयारी तीव्र पारेको छ । केन्द्रले जिल्लाका सबै तहका भातृ सङ्घ–सङ्गठनलाई स्थानीय तहको नयाँ संरचनाअनुसार पार्टी गतिविधि अघि बढाउन निर्देशन दिएको केन्द्रका जिल्ला इन्चार्ज धीरेन्द्र शर्माले बताउनुभयो ।

जिल्लाका अन्य राजनीतिक दलले पनि चुनावी प्रतिस्पर्धामा होमिएका छन् । प्रमुख दलसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँशक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय समाजवादी फोरम नेपाललगायत १७ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

इलाममा ९९ हजार २०७ पुरूष, ९४ हजार ३३९ महिला र दुई जना तेस्रो लिङ्गी गरी कुल एक लाख ८९ हजार २७४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले बताउनुभयो । रासस

प्रकाशित : १० असार २०७४, शनिबार ००:००