८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

४१ स्थानमा युरिनल निर्माण गरिने



काठमाडौँ, ९ असार । काठमाडौँ महानगरपालिकाले विभिन्न ४१ स्थानमा पिसाब घर (युरिनल) निर्माण गर्ने भएको छ ।

महानगरभित्र रहेका सार्वजनिक शौचालय अव्यवस्थित तथा फोहर भएर यात्रुले प्रयोग गर्न सक्ने स्थिति नरहेकाले महानगरपालिकाले व्यवस्थित र सफा शौचालय निर्माणको तयारीस्वरुप ४१ स्थानमा युरिनल निर्माण गर्न लागेको हो ।

महानगरपालिकाको कार्यभार सम्हाल्नुभएको केही दिनमै ‘क्लिन द सिटी’ अभियान सुरु गर्नुभएको महानगर प्रमुख विद्या सुन्दर शाक्यले अहिले व्यवस्थित शौचालय निर्माणको तयारी थाल्नुभएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

सडक यात्रुलाई लक्ष्य गर्दै चोकचोकमा युरिनल बनाउन लागिएको प्रवक्ता कार्कीको भनाइ छ । युरिनल निर्माणका लागि दुईवटा कम्पनीले आवेदन दिएका छन् । अहिले ती आवेदनको अध्ययन भइरहेका छ ।

कार्कीका अनुसार आवेदन दिएका कम्पनीहरुको अनुभव, कार्यदक्षतालगायतका पक्षको मूल्याङ्कन पछि उपयुक्त ठहरिएको कम्पनीलाई सो कामको जिम्मेवारी दिइने छ ।

महानगरपालिकाले उपत्यकाभित्र सार्वजनिक शौचालय निर्माणार्थ १०० स्थानमा सम्भाव्यता अध्ययन गरेको छ ।

घुम्ती शौचालय अव्यवस्थित र फोहर रहेको पाइएपछि हालै महानगरपालिकाले यस्ता शौचालय हटाएको थियो । यस्तो शौचालयको विकल्पमा महानगरपालिकाले १०० भन्दा बढी सार्वजनिक शौचालय निर्माणको तयारी थालेको हो ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ००:००