११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

आयोग राजनीतिक पूर्वाग्रहमा चलेको छैन : डा यादव



काठमाडौँ, ८ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगका आफ्नै नियम कानुन भएकाले सरकारको दबाब र राजनीतिक पूर्वाग्रहमा नचल्ने बताउनुभएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)द्वारा यहाँ आज आयोजित राष्ट्रिय पर्यवेक्षक अभिमुखीकरण कार्यक्रममा उहाँले स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर प्रकरणमा आयोगले गरेको निर्णय ठीक छ भन्दै सो विषयमा कसैले पनि बहस गर्न आवश्यक नरहेको जिकिर गर्नुभयो ।

उक्त घटना सर्वोच्च अदातलमा पुगिसकेकाले अदालतको फैसलनुसार नै अघि बढ्नुपर्नेमा डा यादवले जोड दिनुभयो । उहाँले स्थानीय तहअन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका, दृष्टिविहीन तथा अशक्त व्यक्तिलाई विशेष प्राथमिकता दिन निर्देशनसमेत दिइसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वउपराष्ट्रपति परमान्द झाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफूलाई पर्यवेक्षकको दायित्व प्राप्त भएको र आफूले स्वतन्त्र तथा निष्पक्ष भएर आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो ।

आयोग निरीह रहेको आरोप
नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भरतपुर प्रकरणमा निर्वाचन आयोगसमेत निरीह देखिएको आरोप लगाउँदै सरकारको सहयोगबिना स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनाव हुन नसक्ने बताउनुभयो । उहाँले स्वतन्त्र निर्वाचन प्रणाली स्थापित गराउने विषयमा सबैको ध्यान जानुपर्ने बताउँदै विभिन्न राजनीतिक दललाई निर्वाचनसम्बन्धी अभिमुखीकरण गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

कार्यक्रममा नियोकका महासचिव डा गोपालकृष्ण शिवाकोटीले पर्यवेक्षकले गर्न हुने र नहुने विषयमा कार्यपत्र प्रस्तुत गर्दै चुनावमा पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००