१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

छ महिनाको योजना डेढ महिनामै सम्पन्न



बाबियाचौर (म्याग्दी), ७ असार । म्याग्दीको मङ्गला गाउँपालिका–२ कोक्रवाङ र तोराखेतका बासिन्दाले छ महिनामा सक्ने लक्ष्य रहेको योजना डेढ महिनामै निर्माण गरेका छन् ।

सुरु गरेको ४८औँ दिनमा खानेपानी योजना निर्माण गरेर उनीहरुले इच्छाशक्ति र सक्रियता भयो भने विकास आयोजनामा हुने ढिलासुस्तीको समस्या समाधान हुनसक्ने उदाहरण प्रस्तुत गरेका हुन् । ब्रिटीस गोर्खा वेलफेयरको सहयोगमा २०७३ साल चैत २७ गतेदेखि सुरु भएको कोत्रवाङ ताराखेत खानेपानी तथा सरसफाइ आयोजना जेठ १० गते सकिएको हो ।

संस्थाका प्राविधिक, मिस्त्री कार्यस्थलमै उपस्थित भएको र उपभोक्ताको सक्रियताका कारण छ महिनामा सक्ने लक्ष्य राखिएको आयोजना ४८ दिनमा सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण पौडेलले बताउनुभयो । रु २४ लाखभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट ३९ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ । थप दुई घरमा छ महिनापछि धारा जडान गरिने अध्यक्ष पौडेलले बताउनुभयो ।

गोर्खा वेलफेयरले रु १५ लाख ५४ बराबरको निर्माण सामग्री, प्राविधिक र मिस्त्री सहयोग गरेको थियो । ४१ घरधुरीले ४५ दिनका दरले रु आठ लाख ६६ हजार बराबरको श्रमदान गरेर आयोजना निर्माण गरेका हुन् ।

घुरेनी सामुदायिक वन क्षेत्रको ठूलो खोल्साको मुहानबाट खानेपानी ल्याएर वितरण गरिएको हो । २०५२ सालमा निर्माण भएको खानेपानी आयोजनाको पाइप पहिरोले बगाएपछि स्थानीय बासिन्दाले असुरक्षित मुहान र कुलोको खानेपानी उपभोग गर्दै आएका थिए । घरघरमै शुद्ध खानेपानी आपूर्ति भएपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् । रासस

प्रकाशित : ७ असार २०७४, बुधबार ००:००