१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

चारकिलोमा पहिरो, मुग्लिन सडक बन्द



रत्ननगर (चितवन), ७ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चलेपनि विहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो । अहिले डोजरको सहयोगमा पहिरो पन्छाउने क्रम चलिरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
बेलाबेलामा पानी परिरहेकाले पहिरो पन्छाउन समस्या आउने गरेको प्रहरीले जनाएको छ । पहिरोका कारण यातायात बन्द हुँदा चितवनबाट काठमाडौँ तथा पोखरा जाने र आउने सवारीको ठूलो लाइन लागेको छ ।
दुई दिनअघि पनि यहाँको कालीखोलामा पहिरो खस्दा ८ घन्टा यातायात बन्द हुन पुगेको थियो । मुग्लिन सडक विस्तारका क्रममा रहेकाले यहाँ पहिरो खस्ने क्रम चलिरहेको छ । केही महिनाअघि यहाँ सुक्खा पहिरो खस्दा दुईजनाको ज्यानसमेत गएको थियो ।

प्रकाशित : ७ असार २०७४, बुधबार ००:००