७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

ग्लोबल

भेनेजुएलामा जनआन्दोलन पाँचजनाको मृत्यु, राजधानी तनावग्रस्त



काराकस, १ बैशाख । भेनेजुएलामा सरकार बिरोधी आन्दोलन थप चर्किइ जन प्रदर्शनले उग्र रुप लिएको छ । गत बिहीबार साँझ (नेपाली समय अनुसार शुक्रबार बिहान) ठूलो हावाहूरी तथा मौसमी झरी परे ता पनि राजधानी काराकसको समृद्ध पूर्वी इलाकामा झरीमा रुझ्दै, हावाहूरीको पर्बाह नगरी हजारौँ जनताले बिरोध प्रदर्शन जारी नै राखेका छन् ।

दुई हप्ता अघिदेखि शुरु भएको यस्तो बिरोध प्रदर्शन र जनआन्दोलन आजदेखि तेश्रो हप्तामा प्रवेश गरेको छ । आन्दोलनको क्रममा, यस अवधिभित्र कलेजमा अध्ययनरत दुईजना बिद्यार्थी, दुईजना सर्वसाधारण र एकजना तेह« बर्षीय किशोर समेत पाँचजना आन्दोलनकारीको मृत्यु भैसकेको स्थानीय सरकारी अधिकारीले जनाएका छन् ।
सरकारी सुरक्षाकर्मीहरुलाई नियन्त्रण गर्नै भ्याइ नभ्याइ परोस भन्ने उद्देश्यले भेनेजुएलाका बिपक्षी दलहरुले देशभरका तीनसय महानगरमा बिहीबार एकै पटक एउटै समय पारी बिरोध प्रदर्शन गर्न आह्वान गरेका थिए ।
तर धेरैजसो स्थानमा कडा मौसमी आँधिबेहरी र आरीले घोप्ट्याएजस्तै गरी झरी परेकाले बिरोध प्रदर्शन बिथोलिन पुग्यो । राजधानी काराकसमा निस्केको जुलूस शुरु शुरुमा अन्यत्रको तुलनामा अपेक्षाकृत शान्त भए ता पनि प्रदर्शनीको अन्ततिर एकजना अल्लारे ठिटोले दङ्गा प्रहरीको समूहउपर ढुङ्गा मुढा गरिदिँदा प्रहरीले अश्रुग्याँस छोडेपछि भागदौड मच्चिई भीड तितर बितर भएको छ ।
अश्रुग्याँसको असरबाट बच्न धेरैजसो प्रदर्शनकारीले अनुहारमा मकुण्डो, रसायनले भिजेको कपडा, चस्मा र अन्य उपकरण लगाएका थिए । भेनेजुएलामा स्वर्गीय राष्ट्रपति ह्युगो साभेजले करिब बीस बर्ष अघि समाजबादी क्रान्ति (सोसलिस्ट रिभोल्युसन) अघि सार्नु भै बिभिन्न सामाजिक सुधारका कार्यक्रम हरु लागू गरी गरीब, निमुखा र बिपन्न बर्गको आय आर्जन र जीवनस्तर उत्थानका लागि ठूलो राष्ट्रिय प्रयास गर्नु भएको थियो । राष्ट्रपति ह्युगो साभेजको शासनकाल पछि यस क्रान्तिले इमान्दारीतापूर्वक निरन्तरता पाउन सकेन ।
उठ्न उठ्न लागेको गरीब र बिपन्न बर्गको गति अवरुद्ध हुन पुगेकाले यो बर्गको आक्रोस बिस्तारै चुलिन पुग्यो । पूर्व तथा बर्तमान सरकारका कदमहरुले समाजका सम्पन्न र अन्य बर्गहरु पनि बिस्तारै रुष्ट हुँदै गए । यस्तै यस्ता कारणबश सामाजिक असन्तुष्टि चुलिँदै गई बिस्फोटक जनआन्दोलनको रुप लिन पुगेको भनी भेनेजुएलाका बिश्लेषकहरु बताउँदछन् ।
अहिलेको जनआन्दोलन झुपडी बस्ती (स्लम) बाट शुरु भै बिस्तारै यसमा ठूलो सङ्ख्यामा समाजका मध्यमबर्गीय तप्का पनि सामेल भए । आन्दोलनका पछिल्ला दिनहरुमा सम्पन्न बर्गले पनि सघाइ रहेका हुँदा सरकारलाई आच्छु आच्छु परि रहेको जनाइएको छ ।
सरकारी सुरक्षाकर्मीको गोली प्रहारबाट आन्दोलनकारीहरुको धमाधम मृत्यु भए पछि जनआक्रोश झन् झन् बढ्दै गएको, हजारौँ जनता सडकमा थपिँदै गएका, प्रदर्शनी थप हिंसात्मक बन्दै गएकोले सरकारलाई सम्हाली नसक्नु भएको छ ।
सरकारले शीघ्र नै आन्दोलन रोकी शान्तिपूर्ण समाधानको निकास दिन नसकेमा भोलीका दिनहरुमा आन्दोलनले कुन मोड लिने हो सो अनिश्चिित रहेको भनी राजनीतिक बिश्लेषकहरु बताउँछन् ।

प्रकाशित : १ बैशाख २०७४, शुक्रबार ००:००