११ बैशाख २०८१, मंगलबार । April 24, 2024

मुख्य खबर

डोल्पामा कुनै पनि पार्टीले उम्मेदवार टुङ्गो लगाउन सकेनन्



डोल्पा, ३१ चैत । स्थानीय तहको निर्वाचन हुने दिन नजिकिए पनि डोल्पामा क्रियाशील कुनै पनि राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवार छनोट गर्न सकेको छैन ।
डोल्पामा क्रियाशील ठुला राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले एकाध गाउंपालिका बाहेक कुनै पनि स्थानीय तहका उम्मेदवारहरु सार्वजनिक गर्न सकेका छैनन् ।
सबैभन्दा ठुलो दल नेपाली कांग्रेस डोल्पामा कमजोर छ । उसले त्रिपुरासुन्दरी नगरपालिकामा दिलबहादुर विष्टलाई उम्मेदवार बनाउने भने पनि औपचारिक घोषणा गरेको छैन । उसले अन्य बांकी १ नगरपालिका र ६ गाउंपालिकामा को को के के पदका उम्मेदवार भनेर दिन सकेको छैन ।
त्यस्तै नेकपा (एमाले) देशमा दोस्रो ठुलो दल भए पनि डोल्पामा ठूलो दलका रुपमा परिचित छ । एमालेले त्रिपुरासुन्दरी नगरपालिकाको उपमेयर, काइके गाउंपालिकाका प्रमुख र उपप्रमुख र जगदुला गाउंपालिकाका प्रमुख र उपप्रमुख पदममा सर्वसम्मत नाम आएको जनाएको छ । तर सार्वजनिक गर्न भने गरेको छैन ।
तेस्रो दलका नेकपा(माओवादी केन्द्र) डोल्पाको सन्दर्भमा दोस्रो दलका रुपमा रहेको मानिन्छ । उसले डोल्पाका २ नगरपालिका र ६ गाउंपालिकाहरुमा उम्मेदवारहरुको निक्यौल गरिनसकेको बताएको छ । अन्य पार्टीका उम्मेदवार अनुसार आफ्ना उम्मेदवारहरु वाहिर ल्याउने बताएको छ ।
जिल्लामा चौथो हैसियतमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि सुरसार भएको पाइदैन । जिल्लामा १२ दल रहेको भए पनि यी चार दलबाहेकका अन्य दलहरुको कुनै चर्चापरिचर्चा समेत छैन ।
नेकपा एमाललेमा आकांक्षीहरु बढि भएका कारण उम्मेदवार छान्न सकस परेको अनुभव भएको नेकपा एमाले डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायाले बताए । एमालेमा समस्या भए पछि सहकार्य गरेर उम्मेदवार उठाउने तयारीमा रहेको भन्ने हल्ला आएका नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)ले सहकार्य बमोजिमका उम्मेदवार सार्वजनिक गरेको पनि कतै सुनिएको छैन ।
डोल्पामो एमालेले उम्मेदवार घोषणा गरेपछि उसका उम्मेदवार हेरेर मात्र आफ्ना उम्मेदवार उठाउने एमालेको प्रमुख प्रतिस्पर्धि दल मानिएको नेकपा(माओवादी केन्द्र)का डोल्पा इन्चार्ज रामलाल वि.क.ले बताए । अन्य राजनीतिक दलबाट को को कुन कुन पदमा उम्मेदवार हुने भन्ने जानकारी त के ती दलहरुको के रणनीति छ त्यो नै केही पनि सार्वजनिक भएको छैन । डोल्पामा ४ वटा दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको मात्र चर्चा छ ।

प्रकाशित : ३१ चैत्र २०७३, बिहिबार ००:००