१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मुख्य खबर

निर्वाचन दोस्रो चरणमा गर्ने कुरा आयोगले सोचेको छैन आयुक्त शर्मा



धनगढी, ३० चैत । निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्ने कुरा आयोगले नसोचेको वताएका छन् ।
आज यहाँ पत्रकारसँग कुरा गर्दै आयुक्त शर्माले निर्वाचन दुई चरणमा गर्न सरकारबाट आदेश आएमा समस्या नरहने स्पष्ट पारे । शर्माले, “दुई चरणमा गर्ने आदेश आएमा सोच्न सकिन्छ ।”
यसैबीच आयोगले आज यहाँ राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीसँग निर्वाचन आचारसंहिता, अनुगमन, उजुरी व्यवस्था एवम् निर्वाचन विवाद निरुपण विषयमा छलफल गरेको छ ।
कार्यक्रममा आयोगका सहसचिव दिनेश घिमिरेले निर्वाचन आचारसंहिताका विषयमा प्रस्ट्याएका थिए ।
सो अवसरमा विभिन्न राजनीतिक दलसँग आबद्ध प्रतिनिधिले विगतका निर्वाचनभन्दा आगामी निर्वाचन केही फरक संरचनाको भएकाले मतदाता शिक्षा व्यापकरुपमा सञ्चालन गर्नुपर्ने र आचारसंहिताको अक्षरशः पालना गर्न आयोगले विषेश ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
यसैबीच नेकपा (माओवादी केन्द्र)ले धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा कुन व्यक्तिलाई उठाउने भन्ने टुङ्गो लगाएको छ ।
उपमहानगरको प्रमुखमा धनगढी–७ का रामसमझ राना र उपप्रमुखमा वडा नं ८ की शान्ति अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाउने निधो गरेको उक्त पार्टीका केन्द्रीय सदस्य रमेश धामीले जानकारी दिए ।
यसैगरी गोदावरी नगरपालिकाको प्रमुखमा गोकर्ण भट्ट र टीकापुर नगरपालिकाको प्रमुखमा शिव थापालाई उठाउने निधो भएको धामीले बताए ।

प्रकाशित : ३० चैत्र २०७३, बुधबार ००:००