६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

निर्वाचन देशकै भविष्य कोर्र्ने एक अवसर ः आयुक्त पौडेल



पोखरा, ३० चैत । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले आसन्न स्थानीय तहको निर्वाचन देशकै भविष्य कोर्ने एक अवसर भएको बताएका छन् ।
पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका पाँच जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि आजदेखि यहाँ सुरु भएको ‘दोस्रो चरणको निर्वाचन व्यवस्थापन तथा सञ्चालन’ विषयक क्षेत्रीय प्रशिक्षण उद्घाटन गर्दै उहाँले यो ऐतिहासिक जिम्मेवारी विगतमा भँैं कुशलताका साथ पूरा गर्न आग्रह गरे ।
अघिल्ला दिनमा नेपालमा भएका निर्वाचनलाई अन्तर्राष्ट्रियजगत्ले प्रशंसा गर्ने गरेको उल्लेख गर्दै आयुक्त पौडेलले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले निर्वाचन सम्पन्न गरेर एक उदाहरणीय बन्नुपर्नेमा जोड दिए ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जुनसुकै निर्वाचन सम्पन्न गर्न आयोगलाई एक सय २० दिन आवश्यक पर्ने भए पनि जम्मा ८३ दिनबाट काम सुरु गरिएको यो निर्वाचनको समयलाई भरमग्दुर सदुपयोग गरी जिम्मेवारी बोधका साथ काम गर्न सहभागीसँग आग्रह गरेका छन्।
पोखरा उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालले राष्ट्रसेवक कर्मचारीले चुनौतीलाई पनि अवसरका रुपमा लिई काम गर्नुपर्ने धारणा राख्नुभयो । दुईदिने सो कार्यक्रममा अर्घाखाँची, गुल्मी, स्याङ्जा, नवलपरासी र रुपन्देहीका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत गरी ६२ जनाको सहभागिता छ ।

प्रकाशित : ३० चैत्र २०७३, बुधबार ००:००