१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुद



चितवन, ३० चैत । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था मजबुद बनाउँदै लगिएको छ । स्थानीय सुरक्षा समितिको दैनिक बैठक बसी दिनहुँ सुरक्षा संवेदनशीलता अध्ययन गरी रणनीति बनाइएको हो ।
प्रजिअ नारायणप्रसाद भट्टका अनुसार मतदान केन्द्र तोकिएका एक सय ६१ वटा ठाउँलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य भनी वर्गीकरण गरिएको छ । भौगोलिक हिसाबले माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई अतिसंवेदनशील क्षेत्रका रुपमा लिएर सुरक्षा योजना बनाइएको हो । निर्वाचनलाई केन्द्रित गरेर पूर्वतयारी, निर्वाचन समयको तयारी र निर्वाचनपछिको तयारी योजना, कार्यनीति र रणनीति तयार गरी अहिले पूर्वतयारीको काम भइरहेको प्रजिअ भट्टले जानकारी गराउनुभयो ।
एकीकृत सुरक्षा योजना तयार गरी सुरक्षाको कामअगाडि बढाइएको छ । निर्वाचनस्थललाई बाहिरी घेरा नेपाली सेनाले दिँदैछ भने बीचमा सशस्त्र प्रहरी र भित्री घेरामा रहेर नेपाल प्रहरीले सुरक्षा दिँदैछ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार भित्री घेरामा आवश्यकताअनुसार राष्ट्रिय अनुसन्धानका प्रहरी पनि रहनेछन् । निर्वाचनका लागि एक हजार दुई सय ५५ जना म्यादी प्रहरी भर्ना गरी तालिम दिने काम भइरहेको जानकारी दिए ।
त्यसैगरी प्रहरी कर्मचारीलाई दुई दिनका निर्वाचन अनुशिक्षण तालिम पनि भइरहेको छ । जिल्लामा रहेका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिकामा सशस्त्र प्रहरीको बेस क्याम्प राख्ने तयारी गरिँदैछ भने नेपाली सेनाको टुकडीसमेत राख्ने तय भएको छ । सशस्त्रको बेस क्याम्पमा ६० का दरले र नेपाली सेनाको टुकडीमा ३० जनाको दरले रहनेछन् ।
प्रहरी प्रमुख थापाका अनुसार राजनीतिक कार्यक्रममा सुरक्षा व्यवस्था मजबुद बनाउन जाँचमा कडाइ गरिएको छ । देशभर निर्वाचन सामग्री चितवन हुँदै जाने हुँदा त्यसलाई पनि सुरक्षा दिने प्रबन्ध मिलाइएको छ । मदिरा नियन्त्रण, फरार अभियुक्त पक्राउलगायत सुरक्षा संवेदनशीलतामा विशेष ध्यान दिइएको थापाले बताए ।

प्रकाशित : ३० चैत्र २०७३, बुधबार ००:००