१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

पाँचथरमा चुनावी सरगर्मी, यस्ता छन् फिदिमको मेयरका दाबेदार (सूचि सहित)



फिदिम । बैशाख ३१ गतेका लागि सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको सरगर्मी पाँचथरमा बढ्दो छ । जिल्लामा अधिकांश दलहरु संगठन चलायमान बनाउन लागिपरेका छन् ।
मूख्य दलहरु मध्ये नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी वडा समिति निर्माण र उम्मेद्वार तय गर्न लागिपरेका छन् । निर्वाचन नजिकिएसँगै स्थानीय तहका सम्भावित उम्मेद्वारका विषयमा दलहरु भित्र गरमागरम बहस र छलफल चलिरहेको छ । नेताहरु पार्टीबाट उम्मेद्वारको टिकट पाउन पार्टी कमिटीदेखि शक्ति केन्द्रसम्म धाइरहेका छन् ।
पाँचथरमा स्थानीय तहमध्ये सर्वाधिक चर्चाको रहेको छ फिदिम नगरपालिका । आउँदो निर्वाचनका लागि २७ हजार १ सय ८१ मतदाता रहेको फिदिम नगरपालिकामा जिल्लाको कुल जनसंख्याको झण्डै १ चौथाई जनसंख्या रहेको छ । मतदाता मध्ये १३ हजार ९४३ पुरुष र १३ हजार २३८ महिला मतदाता छन् । यी मतदाताले फिदिममा १ मेयर, १ उपमेयर, १४ वडामा १४ वडाध्यक्ष र ५६ जना वडा सदस्य गरी ७२ जना जनप्रतिनिधि निर्वाचित गर्नेछन् । साविकको फिदिम नगरपालिका, लुम्फाबुङ, नांगीन, रानीटार र लुङरुपा गाविस तथा याङनाम गाविसका १ देखि ५ सम्मका वडा समेटिएको फिदिम नगरपालिकाको मेयर पदमा दलहरुभित्र धेरै आकाङ्क्षीहरु देखिएका छन् । दलहरुलाई मेयर र उपमेयर छनौट गरेर उम्मेद्वारी घोषणा गर्न कठिन परिरहेको छन् ।

नेपाली काँग्रेस

 


फिदिम नगरपालिकाको मेयर उम्मेद्वार बन्न नेपाली काँग्रेसभित्र ठूलै रस्साकस्सी चलिरहेको छ । काँग्रेसको तर्फबाट उम्मेद्वार बन्ने अधिक सम्भावना बोकेका नेता ओनाहाङ नेम्वाङ हुन् । पुराना र पाका नेता नेम्वाङ उम्मेद्वार छनौटमा सर्वसहमत हुने र निर्वाचनमा पार्टी पङ्तीबाट अन्तरघात नहुने काँग्रेस भित्र चर्चा छ । काँग्रेस महासमिति सदस्य नेम्वाङले मेयरको दावी नछोडेको अवस्थामा अन्य नेताहरुले आफ्नो दाबी छोड्नुपर्ने बाध्यता रहेको काँग्रेस नेताहरु बताउँछन् ।
नेम्वाङपछि काँग्रेसबाट मेयरको उम्मेद्वार बन्ने सम्भावना बोकेका नेता मित्रप्रसाद काफ्ले हुन् । जिल्लामा लामो समयदेखि निजी र सामाजिक क्षेत्रको अगुवाई गरेका उनी पार्टीको कामभन्दा बढि सामाजिक सेवामा खटिएका छन् । काँग्रेस इतरका मतदाताबाट समेत समर्थन पाउने भएका कारण काफ्ले मेयर पदका बलिया दाबेदार बनेका हुन् । यद्यपी काफ्लेलाई पाँचथर उद्योग वाणिज्य संघको नेतृत्वमा जानबाट रोक्न लागिपरेका काँग्रेस नेताहरु उनलाई मेयरको उम्मेद्वार बन्नबाट रोक्ने दाउमा छन् ।
काँग्रेसबाट उम्मेद्वार बन्ने मूख्य दाबेदार नेम्वाङ र काफ्ले नै हुन् । उनीहरु पछि जिल्ला सचिव रुपनारायण जवेगू, महाधिवेशन प्रतिनिधि रामराज आङ्देम्बे, महाधिवेशन प्रतिनिधि अम्बिकाप्रसाद न्यौपाने मेयर पदका दाबेदारका रुपमा रहेका छन् । काँग्रेसले उम्मेद्वारको टुङगो लगाउने कार्यभार क्षेत्र, जिल्ला र केन्द्रमा बाँढेको छ र नगरपालिकाको उम्मेद्वार बनाउने जिम्मा सम्वन्धित जिल्ला समितिलाई तोकेको छ । काँग्रेस जिल्ला कार्यसमितिमा नेम्वाङ र काफ्ले मध्येबाटै उम्मेद्वार छान्ने पक्षमा बहुमत रहेको वताइन्छ । काँग्रेसबाट उपमेयर पदमा महाधिवेशन प्रतिनिधि मधु जवेगू र जिल्ला कार्यसमितिकी सदस्य उर्मिला प्रधानको चर्चा छ ।

नेकपा (एमाले)


फिदिम नगरपालिकाको मेयरको उम्मेद्वार छनौट गर्न नेकपा (एमाले)लाई निकै कठिन हुने देखिएको छ । एमालेमा पुराना नेताहरुदेखि युवा नेताहरुसम्मले मेयर पदको उम्मेद्वार पाउनुपर्ने दाबी नछाड्ने देखिएपछि कसरी सहमतिमा उम्मेद्वार छनौट गर्ने भन्ने चुनौती आइपरेको छ । एमाले जिल्ला अध्यक्ष राजकुमार भण्डारी, नांगीन गाविसका पूर्वअध्यक्ष एवं पार्टीका पूर्व उपसचिव थुमनाथ चापागाँई, सचिवालय सदस्यद्वय गजाधर भट्टराई र महेन्द्रविक्रम थाम्सुहाङ तथा साविकको फिदिम नगर कमिटीका अध्यक्ष पृथ्वी लावती मेयरका दाबेदार हुन् । यी पाँचै नेताको आ–आफ्नै दाबी छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणाअघि चर्चामा नरहेका अध्यक्ष राजकुमार भण्डारीको नाम सहमतिका लागि अन्य नेताहरुले ल्याएका थिए । नगरपालिकाको कार्यक्षेत्र र भूगोल ठूलो भएका कारण अध्यक्ष भण्डारीलाई नै मेयर पदमा उठाउने र जिताउने रणनीति एमाले भित्रका केही नेताहरुले लिएका छन् । भण्डारीले इच्छा देखाएको अवस्थामा अन्य नेताहरुले दाबी गर्न नसक्ने, पार्टीभित्रबाट अन्तर्घात नहुने र जित हाँसिल हुने एमाले भित्र चर्चा छ ।
यता पार्टी जिम्मेवारीबाट अलग भएका नेता थुमनाथ चापागाईलाई मेयरको उम्मेद्वार बनाउनुपर्ने दाबी पनि बलियो गरी उठिरहेको छ । चापागाईको स्वास्थ्य अवस्था र उमेरका कारण पार्टी जिम्मेवारी तथा केन्द्र र प्रदेशको सांसद्को उम्मेद्वार बन्ने सम्भावना न्यून रहेकाले उनलाई नगरपालिकाको मेयर बनाइनुपर्ने दाबी एमालेभित्र छ । युवा नेताहरु भट्टराई, थाम्सुहाङ र लावती तीनै जना पार्टीको काम निरन्तर क्रियाशिल, संगठक र युवा भएका कारण मेयरको उम्मेद्वार बनाइनुपर्ने चर्चा एमाले भित्र छ । अध्यक्ष भण्डारी र नेता चापागाई अन्यत्रै जिम्मेवारी दिएर युवाहरुबाट मेयरको उम्मेद्वार बनाउनसके पार्टीको जित निश्चित रहेको दाबी एमाले भित्र छ ।
एमाले नगरको प्रमुख र उप्रमुख पदका उम्मेद्वारको टुङ्गो प्रदेश कमिटीले लगाउने छ । यसका लागि सम्बन्धित नगर कमिटी र जिल्ला कमिटीले सिफारिस गर्नुपर्ने मापदण्ड एमाले स्थायी समितिले बनाएको छ । एमालेमा बढि विवाद भएको खण्डमा अध्यक्ष भण्डारी नै उम्मेद्वार बन्ने सम्भावना बढि छ । एमालेबाट उपमेयरमा जिल्ला कमिटी सदस्यद्वय मुना नेम्वाङ र अञ्जु काम्बाङको नाम चर्चामा छ ।

नेकपा (माओवादी केन्द्र)


नेकपा (माओवादी केन्द्र)बाट फिदिम नगरपालिकाको मेयरको उम्मेद्वारको रुपमा नेता राधाकृष्ण न्यौपानेको नाम धेरै अघिबाट आइरहेको छ । माओवादी केन्द्रबाट मेयरको उम्मेद्वारका लागि जिल्ला सहइन्चार्ज विशाल रसाइली, सहसंयोजक टीका नेम्वाङ ‘परिचित’, नेता बालकृष्ण काफ्ले ‘विकास’ लगायतको नाम समेत आएको छ । यद्यपी माओवादीमा मेयरको उम्मेद्वारको दौडमा न्यौपाने सबैभन्दा अघि छन् ।
लामो समय शिक्षण गरेका, माओवादी भएकै कारण जेल सजाय भोगेका नेता न्यौपाने पार्टीको काम भन्दा बढि सामाजिक क्षेत्रमा क्रियाशिल छन् । निवृत्तिभरणबाट आएको पैसा विद्यालयहरु सुधार विस्तारमा सहयोग गरेका उनी पाँचथरमा अनलाइन शिक्षा लागू गराउने प्रयत्नमा खटिरहेका छन् र न्यौपानेले शिक्षण गरेको नांगीन माध्यमिक विद्यालयबाटै यसको सुरुवात भएको छ । फिदिममा शान्ति सुरक्षा कायम राख्न सीसी क्यामेरा जडान गर्न सुरुवाती पहल लिएका न्यौपानेले माओवादी इतरका मतदाताको ठूलो समर्थन पाउने उनी पक्षधरको बुझाई छ । माओवादीले पनि एमालेले जस्तै जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले उम्मेद्वारको टुङ्गो लगाउनेछ । माओवादी केन्द्रबाट उपमेयर पदमा जिल्ला समितिकी सदस्य सानु थापाको नाम चर्चामा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी


राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फिदिम नगरपालिकाको मेयरको उम्मेद्वारको रुपमा नेता तेजकुमार कुरुम्बाङको नाम चर्चामा छ । निर्माण व्यवसायी कुरुम्वाङ राप्रपाका पूर्व केन्द्रीय सदस्य समेत हुन् । राप्रपाबाट नगर अध्यक्ष जगत थापा मगर र पूर्व जिल्ला उपाध्यक्ष रामबहादुर थापा मगरको नाम समेत चर्चा छ । रामबहादुर र जगत मध्ये एकलाई फिदिम नगरपालिका वडा नम्बर १ को उम्मेद्वार बनाइने राप्रपा निकट स्रोत बताउँछ । यद्यपी कुरुम्बाङले मेयरको उम्मेद्वारको दाबी गरेको खण्डमा पार्टीबाट टिकट पाउने सम्भावना प्रवल रहेको राप्रपा नेताहरुको भनाई छ ।

प्रकाशित : २८ चैत्र २०७३, सोमबार ००:००