८ बैशाख २०८१, शनिबार । April 21, 2024

मनोरञ्जन

सहकारी प्रवद्र्धनका लागि रणनीतिक योजना खाँचो



जनकपुरधाम २७ चैत । आउँदो २० वर्ष सहकारी क्षेत्रको दीर्घकालीन रणनीतिक योजना समतामूलक आर्थिक एवम् सामाजिक रूपान्तरण उन्मुख हुनुपर्नेमा जोड दिइएको छ ।
जनकपुरधाममा सम्पन्न सहकारी क्षेत्रको दीर्घकालीन रणनीतिक योजनाका लागि प्रदेशस्तरीय कार्यशालामा सहभागीले उद्यमशीलताको विकास गरी स्वरोजगार एवम् रोजगारीका अवसरको विस्तार गर्ने योजना तर्जुमाको खाँचो आँल्याए ।
सहकारी क्षेत्रमा लैङ्गिक समानता, समावेशीकरणलगायत विपन्न वर्ग, एकल महिला तथा अन्य लक्ष्यित वर्गको सहभागिता र पहुँच अभिवृद्धि, उत्पादन र उत्पादकत्व वृद्धिका लागि उपयुक्त प्रविधिको उपयोगको विस्तार, कृषि उपजको प्रशोधन र भण्डारणको व्यवस्थालाई प्रवद्र्धन गर्ने योजना तर्जुमातर्फ पनि सहभागीले जोड दिएका थिए ।
राष्ट्रिय सहकारी विकास बोर्डद्वारा आयोजित सो कार्यशालाका सहभागीले सहकारी र निजी क्षेत्रका बीचमा उत्पादनमूलक तथा व्यावसायिक सहकार्यका लागि अग्र सम्बन्धन एवम् पृष्ठ सम्बन्धनको विकास, सहकारी उद्योगलाई कानुनद्वारा व्यवस्थित गर्ने, सहकारीमैत्री कर प्रणालीको विकास र बचत परिचालन गर्ने रणनीतिक योजनासमेतका लागि ध्यानाकर्षण गराएका थिए ।
शिक्षा, तालिम र सूचनाको माध्यमबाट सहकारीको संस्थागत क्षमता विकास र सहकारीसम्बन्धी जनचेतना अभिवृद्धि, सकारी क्षेत्रलाई प्रभावकारी, प्रतिस्पर्धी र गुणस्तरीय बनाउने मापदण्डको व्यवस्था, उत्पादनलाई बजारीकरण गर्न बजार केन्द्रको विकास र सहकारी संस्थालाई विविधीकरण गरी पर्यटन, ऊर्जा, यातायात, शिक्षा, स्वास्थ्य र सञ्चारलगायत सेवा क्षेत्रमा विस्तार गर्ने योजना तर्जुमाको आवश्यकतामा पनि सहभागीले जोड दिए ।
सो अवसरमा बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले जनतालाई नोकर होइन, मालिक बनाउने सहकारी अभियानको आवश्यकताको चर्चा गरे ।
बोर्डका सञ्चालक रामचन्द्र कुशवाहाको अध्यक्षतामा भएको सो कार्यशालामा जिल्ला सहकारी बचत संस्था धनुषाका अध्यक्ष धु्रवनारायण यादवले आर्थिक समृद्धि र आत्मनिर्भर बनाउने सहकारी रणनीतिक योजना तर्जुमाको खाँचो औँल्याए ।

प्रकाशित : २७ चैत्र २०७३, आइतबार ००:००