११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

आगामी बैशाक ३१ मा सम्पन्न हुने स्थानीय निर्वाचनमा तीन लाख उम्मेदवारले चुनावमा भाग लिने



काठमाडौँ, २७ चैत । लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको आगामी वैशाख ३१ गते हुने निर्वाचनलाई महाअभियान र उत्सवकै रुपमा हेरिएको छ ।
स्थानीय तहका रुपमा रहेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकामा एकै चरणमा निर्वाचन हुँदैछ ।
सो निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । तीमध्ये ७० लाख ६९ हजार सात सय १४ पुरुष, ६९ लाख ८४ हजार छ सय २५ महिला र एक सय ४३ तेस्रो लिङ्गी छन् ।
विसं २०७३ फागुन ९ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्रै स्थानीय तह निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तहको निर्वाचनका लागि एक करोड ५४ लाख मतपत्र छाप्ने छ । हालसम्म ५५ जिल्लाको मतपत्र छापिसकेको बताइएको छ । त्यस्तै ५५ लाख मतदाता परिचयपत्र पनि तयार भइरहेको छ । हालसम्म मतदान केन्द्रको यकिन गरी नसकिए पनि करिब त्यो सङ्ख्या करिब २१ हजार हुनेछ ।
स्थानीय तहको निर्वाचनका लागि आयोगलाई कम्तीमा पनि ८४ हजार मतपेटिका आवश्यक पर्ने छ । कुल सात सय ४४ स्थानीय तहमा हुने उक्त निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य समेत गरी ३६ हजार छ सय ३९ जना निर्वाचित हुने छन् । स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति भन्ने बुझिन्छ ।
आगामी निर्वाचनमा मतदाता शिक्षाका लागि करिब ५५ लाख पोस्टरसहितको नौ प्रकारका मतदाता शैक्षिक सामग्रीको व्यवस्थापन गरी २१ हजार स्वयम्सेवीलाई घरदैलामा खटाउने तयारी भइरहेको छ ।
आगामी निर्वाचनका सन्दर्भमा आयोगले एक लाख २६ हजार कर्मचारी परिचालन गर्दैछ । निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गर्ने चरणमा अहिले आयोग रहेको छ । विगतको निर्वाचनको अनुभव र हाल लामो समयपछि हुन लागेको हुनाले यस पटकको निर्वाचनमा सबै पदमा गरी झन्डै तीन लाख २६ हजारको हाराहारीमा उम्मेदवार रहने अनुमान छ ।
स्थानीय गाउँ तथा नगरपालिकामा मतदाता नामावलीमा नाम समावेश भएका, २१ वर्ष उमेर पुगेका, नेपाली नागरिक र कानुनले अयोग्य नभएको व्यक्ति उम्मेदवार हुन सक्ने व्यवस्था छ ।
मतदाता प्रशिक्षकले आगामी वैशाख १ गतेदेखि प्रत्येक घरदैलामा पुगेर मतदातालाई मतदान गर्न, उम्मेदवार बन्न र पछि नेतृत्व लिन सक्ने गरी शिक्षित तुल्याउनेछन् ।
स्थानीय तहको आगामी निर्वाचनमा सात पदका लागि सात अलग÷अलग मत चिह्न रहेको मतपत्रको कोठामा स्वस्तिक छाप लगाउनुपर्ने छ । जिल्लामा दर्ता भएका राजनीतिक दलको सङ्ख्याका आधारमा आयोगले स्थानीय तहको निर्वाचनका लागि छ आकारको मतपत्र तयार गरेको छ ।
सबैभन्दा ठूलो मतपत्रमा चार सय ७६ चुनाव चिह्न रहने छन् । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने २७ सहित निर्वाचन आयोगमा हाल एक सय १३ राजनीतिक दल दर्तामा छन् । स्थानीय तहको निर्वाचनका लागि मतपत्र, मतपेटिका, मतदाता नामावली, स्वस्तिक चिह्न, मसीलगायत ६७ प्रकारको सामग्री आवश्यक पर्ने आयोगले जनाएको छ ।
सरकारले निर्वाचनका लागि रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार निकासा गरिसकेको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत आगामी वैशाख १६ गते मनोनयन सुरु भई वैशाख ३१ गते अपरान्ह ५ बजेसम्ममा मतदानको काम पूरा हुनेछ ।
निकै लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा कुन दलबाट कुन÷कुन पदमा को उम्मेदवार बन्ने विषयले अहिले गाउँ टोलमा चर्चा पाएको छ । आगामी स्थानीय तहको निर्वाचनबाट परिवर्तनकारी शान्तिकामी नेपालीले घरदैलामै स्थानीय सरकार पाउने छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको भावनानुरुप आगामी निर्वाचनपछि समानुपातिक र समावेशिताको नमुनाका रुपमा स्थानीय तह रहने छ ।

प्रकाशित : २७ चैत्र २०७३, आइतबार ००:००