७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

विद्यालय छाडेका बालबालिकालाई फर्काउन नयाँ अभियान



रत्ननगर (चितवन), २५ चैत । जिल्ला शिक्षा कार्यालय, चितवनले बीचैमा कक्षा छाड्ने बालबालिकालाई खोजेर स्कुलमा फर्काउने नयाँ अभियान सुरु गर्ने भएको छ ।
कार्यालयले सामुदायिक सिकाइ केन्द्रमार्फत यसरी स्कुल छाडेका विद्यार्थीलाई खोजेर स्कुलमा ल्याउने कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिनुभयो । उक्त अभियानका लागि प्रक्रिया भने सुरु भइसकेको उहाँले बताए ।
उनका अनुसार जिल्लामा रहेका ३३ सामुदायिक सिकाइ केन्द्रमार्फत उनीहरुलाई स्कुलमा ल्याइनेछ । सिकाइ केन्द्रमा प्रस्ताव आह्वानसमेत गरिसकेको र केही सिकाइ केन्द्रबाट कार्यक्रम सञ्चालनको प्रस्तावसमेत आइसकेकाले शैक्षिकसत्र सुरु भएपछि यो अभियान सञ्चालन गर्ने अर्यालको भनाइ छ ।
वैशाखदेखि असारसम्मै यो कार्यक्रम चलाइने र अभिभावकलाई समेत राखेर चेतना दिने कार्यालयको भनाइ छ ।
सिकाइ केन्द्रले गाउँगाउँमा यस्ता बालबालिका खोजेर ल्याउने गरी प्रस्ताव आह्वान गरिएको हो एक विद्यार्थीलाई स्कुलमा फर्काएबापत केन्द्रले रु छ हजार पाउने छ । एउटा केन्द्रले यसरी २५ जनासम्म बालबालिकालाई फर्काउने प्रावधान रहेको कार्यालयले जनाएको छ ।
जिल्लामा भर्नादर करिब करिब शतप्रतिशत नै भए पनि बीचैमा स्कुल छाड्ने दर भने धेरै छ । अझै चितवनको पहाडी गाउँमा चेपाङ बालबालिका बीचैमा स्कुल छाड्ने गरेको स्थानीय दलबहादुर चेपाङ बताउँछन्।
“स्कुलमा भर्नाभन्दा पनि नियमितता नहुनु चुनौती देखियो, जिशिअ अर्यालले भन्नुभयो – यो चुनौतीको सामान गर्न यसरी नयाँ अभियान थाल्दै छौँ ।”
जिल्लामा वैशाख २ देखि १४ गतेसम्म भर्ना अभियान छ । तर पनि यसवर्ष वैशाख ६ गतेदेखि नै स्कुल सञ्चालन गर्ने निर्देशन दिएको र त्यसका लागि नियमित अनुगमन गर्ने संयन्त्रसमेत बनाइसकेको जिशिअ अर्याल बताउँछन्।
चितवनमा कुल १७६ निजी र ३७७ वटा सामुदायिक विद्यालय छन् । यहाँ कुल एक लाख ४३ हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : २५ चैत्र २०७३, शुक्रबार ००:००