१६ जेष्ठ २०८०, मंगलबार । May 30, 2023

अर्थ

जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख



गुलरिया ९बर्दिया०, २१ चैत । बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई निकुञ्जले राहतस्वरुप रु १० लाख प्रदान गरेको छ ।
आइतबार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिका–२ कर्मलाका विश्रामवादीलाई बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले राहतस्वरुप रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
जङ्गली हात्तीले कुल्चिँदा एकमात्र छोराको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयवासी सडकमा उत्रिएर शव उठाउन नदिएपछि निकुञ्जसँग वार्ता गर्दा विश्रामवादी पीडित भएको भन्दै स्थानीयवासी र श्रीरामनगर उपभोक्ता समितिको पहलमा थप रु पाँच लाख राहत रकम प्रदान गरिएको हो ।
मृतकका बुबालाई जीविकोपार्जनका लागि आयमूलक कार्यक्रममा समेत सहयोग गर्ने निकुञ्जले जनाएको छ । सरकारले वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई रु पाँच लाख राहत रकम उपलब्ध गराउने व्यवस्था छ तर एक महिना अघिदेखि जङ्गली हात्तीले निकुञ्ज आसपासका गाउँमा आतङ्क मच्चाइरहेका बेला हात्तीले कुल्चिँदा एक मात्र छोराको ज्यान गएपछि श्रीरामनगर उपभोक्ता समिति र अन्य सङ्घसंस्थाको सहयोगमा थप रु पाँच लाख गरी राहतस्वरुप रु १० लाख प्रदान गरिएको हो ।
वन्यजन्तु संरक्षणमा लाग्दालाग्दै वन्जन्तुको आक्रमणमा परी ज्यान गुमाएका परिवारजनलाई राहतस्वरुप प्रदान गरिने रु पाँच लाख रकमबाट बढाएर रु १० लाख राहत रकम उपलब्ध गराउन प्रस्ताव गरिएको निकुञ्जका निमित्त संरक्षण प्रमुख थापाले बताए ।
निकुञ्जबाट गाउँमा पसेको जङ्गली हात्ती भगाउन गएका बेला हात्तीले कुल्चिँदा गत फागुन २४ गते ठाकुरबाबा–२ कर्मलाका २० वर्षीय विजय बादी नेपालीको ज्यान गएको थियो । बर्दिया निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले कुल्चिँदा एक वर्षभित्र छ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : २१ चैत्र २०७३, सोमबार ००:००