१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

केन्द्र विवादले गाउँपालिका कार्यान्वयनमा आउन सकेन



म्याग्दी, २० चैत । म्याग्दीको रघुगङ्गा भेगका आठ गाविसलाई समावेश गरिएको रघुगङ्गा गाउँपालिकाको केन्द्र विवादले तीन साता बितिसक्दा पनि गाउँपालिका औपचारिकता पाउन सकेको छैन ।
यस गाउँपालिकामा समावेश अधिकांश साबिकका गाविसमा वडा कार्यालयसमेत स्थापना हुन नसकेको भगवतीका अगुवा रिम कटुवालले बताए । सरकारले राजपत्रमा रघुगङ्गा गाउँपालिकाको केन्द्र पाखापानी तोके पनि त्यस गाउँपालिकामा समावेश पाँच गाविसका बहुसङ्ख्यक जनतालाई अपायक पर्ने देखिएपछि गाउँपालिका कार्यान्वयन कठिन भएको हो ।
पिप्ले, भगवती, बेगखोला क्षेत्रका बासिन्दाले यथास्थितिमा निर्वाचन गर्न नदिने भन्दै निर्वाचन बहिष्कार अभियान नै चलाएका छन् भने वडा कार्यालयसमेत सञ्चालनमा नआउँदा सर्वसाधारण समस्यामा परेका छन् । भौगोलिक विकटताका कारण गाउँपालिकामा समावेश आठ गाविस झीँ, पाखापानी, कुइनेमङ्गले, चिमखोला, दग्नाम, पिप्ले, भगवती र बेगखोलाका नागरिकलाई एउटै केन्द्रबाट सेवासुविधा लिन अपायक देखिएपछि त्यस क्षेत्रका सरोकारवालाले गाउँपालिका थप गरी विवाद समाधान गर्न माग गरेका छन् ।
साबिकका आठवटा गाविसमा रहेका क्रियाशील राजनीतिक दल, जिल्लास्थित राजनीतिक दलमा प्रतिनिधित्व गर्ने अगुवा नेता र सरोकारवालाको हालै बेनीमा भएको छलफलबाट उनीहरुले रघुगङ्गा खोलावारि र पारिका बस्तीलाई पायक पर्ने गरी दुईवटा गाउँपालिका माग गर्ने निर्णयसमेत गरेका छन् । भू–बनोट र विकटताको कारण नागरिकलाई सेवासुविधा लिन सहज होस् भनेर रघुगङ्गापारिका बेगखोला, भगवती, पिप्ले, दग्नाम र चिमखोला गाविसलाई मौवाफाँट केन्द्र रहनेगरी गाउँपालिका बनाउनुपर्ने र झीँ, पाखापानी र कुइनेमङ्गले गाविसलाई समेटेर पाखापानी केन्द्र रहने गरी अर्को गाउँपालिका बनाउन माग गरिएको छलफलमा सहभागी शिव केसीले बताए ।

प्रकाशित : २० चैत्र २०७३, आइतबार ००:००