२९ चैत्र २०८०, बिहिबार । April 12, 2024

मुख्य खबर

आचारसंहिता पूर्णपालनामा जोड



सोलुखुम्ब, , २० चैत । पत्रकार आचारसंहिताको पूर्ण पालनाका लागि सरोकारवालाले जोड दिएका छन् । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु जिल्ला शाखाले सल्लेरीमा आयोजना गरेको अन्तक्र्रियामा सरोकारवालाले पत्रकार आचारसंहिताको पूर्ण पालनाले समाजमा द्वन्द्व सिर्जना नहुने बताए ।
प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छा विन्दु तुलाधरले समाजमा अहिले राजनीतिक नेता पछि बढी मात्रामा पत्रकारलाई गाली गर्न थालेको बताउँदै पत्रकारले आचारसंहितालाई ध्यान दिएर सञ्चार सामग्री प्रस्तुत गर्दा पत्रकार र सञ्चार माध्यमको गरिमा बढ्ने बताइन्।
सञ्चार माध्यमले सरकार बनाउनेदेखि गिराउनेसम्मका भूमिका निर्वाह गर्ने चर्चा गर्दै उनले पत्रकार तथा सञ्चार माध्यमले आचारसंहिताको उल्लङ्घन गरे वा कुनै पक्ष समाचारका कारण पीडित भए प्रेस काउन्सिलमा उजुरी दिन आग्रह गरिन् ।
प्रेस काउन्सिलका अर्का सदस्य चेतनाथ धमलाले सञ्चार माध्यमले अभिव्यक्तिगत स्वतन्त्रताको सीमालाई नाघ्न नहुनेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले परिस्थितिलाई मध्यनजर गर्दै पत्रकारले सकारात्मक प्रस्तुतिमा जोड दिनुपर्ने भन्दै परम्परागत प्रस्तुतिलाई त्याग्नुपर्ने सुझाव दिएका छन् ।
स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले पुनःसंरचनापछि नागरिकलाई सुसूचित गर्न सञ्चार माध्यमको भूमिका बढेको बताए ।

प्रकाशित : २० चैत्र २०७३, आइतबार ००:००