७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

वन्यजन्तुका लागि आरसीसी पर्खाल निर्माण



चितवन, १८ चैत । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट वन्यजन्तु बस्ती पसेर जनधनको क्षति बढाउन थालेपछि उपभोक्ता समितिले आरसीसी पर्खाल निर्माण सुरु गरेका छन् ।
सामान्य रोकावटका लागि विद्युतीय तारबारबाट काम सुरु गरेका उनीहरुले काँडे तार, मेसजाली, पिसिसिसहितको मेसजालीहुँदै दिगो विकल्पका रुपमा आरसीसी पर्खाल लगाउन थालेका हुन् ।
निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार मध्यवर्तीका २२ वटै सामुदायिक वनले कुनै न कुनै विकल्प प्रयोग गर्दै आएका छन् । सौराहा क्षेत्रमा रहेका मध्यवर्ती सामुदायिक वनले भने ठूलो लगानी गरेर आरसीसी पर्खाल निर्माण गर्न थालेका छन् ।
विद्युतीय तारबार गर्दा दुईदेखि तीनवटा तार लगाएर त्यसमा सोलारबाट करेन्ट छाड्ने गरिन्छ । एक किलोमिटर निर्माण गर्दा करिब रु ८ लाख खर्च हुन्छ । पिसिसिसहितको मेसजाली निर्माण गर्दा रु २२ लाखदेखि रु २५ लाखसम्म तथा आरसीसी पर्खाल निर्माण गर्दा रु ७० लाख खर्च हुने गरेको छ ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि निकुञ्ज मातहतमा रहेका मध्यवर्ती सामुदायिक वन र जिल्ला वन कार्यालयको क्षेत्रमा पर्ने सामुदायिक वनले समेत आरसीसी पर्खाल र मेसजाली निर्माण गरेका छन् । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेका दुईवटा सामुदायिक वनमा आरसीसी पर्खाल लगाउने काम भइरहेको छ भने एउटाको काम अन्तिमचरणमा पुगेको छ ।
बाघमारा र टिकौली मध्यवर्ती सामुदायिक वनमा पर्खाल निर्माणको काम सुरु भएको र जनकौली मध्यवर्ती सामुदायिक वनमा भने अन्तिमचरणमा पुगेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुङ्गानाले जानकारी दिए । समितिअन्तर्गत जनकौली, बाघमारा, टिकौलीसँगै चित्रसेन, मिलिजुली र खोरसोर मध्यवर्ती वन रहेका छन् ।
“वन्यजन्तुकै कारण बर्सेनि मानिसले ज्यान गुमाउनु परेको छ” समितिका अध्यक्ष ढुङ्गानाले भने “मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्दै सम्बन्ध सुमधुर बनाउन आरसीसी पर्खाल निर्माण गरिएको हो ।” आरसीसी पर्खाल निर्माण गरेपछि जङ्गली जनावर सजिलै बस्ती प्रवेश गर्न सक्दैनन् । वन र बस्तीको सीमा खुल्ला रहेका कारण मानिस पनि वन प्रवेश गर्ने र जनावर पनि सजिलै वस्ती प्रवेश गरेर धनजनको क्षति पु¥याउँदै आएका छन् ।
यस वर्ष मात्रै जङ्गली जनावरको आक्रमणमा परी मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत तीन जनाले ज्यान गुमाइसकेका छन् । गैँंडा, बाघ र जङ्गली हात्तीले विषेश गरी बढी क्षति पु¥याउँदै आएका छन् । यस्ता घटना न्यूनीकरण मात्रै नभइ वन्यजन्तुप्रतिको माया अझ बढी प्रगाढ बनाउन आरसीसी पर्खाल निर्माण गरिएको समितिले जनाएको छ ।

जनकौली मध्यवर्ती सामुदायिक वनमा करिब रु एक करोड ५० लाखको लागतमा पर्खाल निर्माण गरिएको छ । आरसीसी पर्खाल निर्माणका लागि प्रति किलोमिटर रु ७० लाख लाग्छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत बस्तीसँग जोडिएको सीमानामा करिब १५ किलोमिटर छ ।
“निकुञ्जको जनावर मार्ने काम शून्यमा झारिसक्यो तर जनावरले मान्छे मार्ने क्रम रोकिएन,” ढुङ्गानाले भन्नुभयो “मान्छे मार्ने क्रम रोक्न प्राथमिकता दिन जरुरी छ । कुनै पनि कारणले मानिस र वन्यजन्तु मासिन हुँदैन ।” चोरी सिकार शून्यमा झारेसँगै जङ्गली जनावरको सङ्ख्यामा पनि वृद्धी भएकाले जनावर मानवबस्ती प्रवेश गर्ने क्रम बढ्दै गएको छ ।
सौराहा क्षेत्रमा रहेका मध्यवर्ती सामुदायिक वनको आम्दानी अन्यको भन्दा बढी छ । पर्यटक हात्तीमा चढेर सामुदायिक वनको भ्रमण गर्दै आएका छन् । त्यहाँ रहेका वनले वार्षिक रु एक करोड ५० लाखको हाराहारीमा आन्तरिक आम्दानी गर्दछन् । त्यसका अतिरिक्त निकुञ्जबाट आउने राजस्व, दाताको सहयोग र स्थानीय निकायको आर्थिक सहयोगमा पर्खाल निर्माण हुनथालेका हुन् ।

प्रकाशित : १८ चैत्र २०७३, शुक्रबार ००:००