१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

टिकटका लागि दौडधुप



इलाम, १८ चैत । निर्वाचनको मिति नजिकिँदै जाँदा इलाममा चुनावी माहोल बढ्दै गएको छ ।
आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा जिल्लाका विभिन्न नगरपालिकामा नगर प्रमुखमा नेतृत्व लिन दलहरू आ–आफ्नो चुनावी कसरतमा लागेका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले चुनावी परिणाम आफ्नो पक्षमा पार्न आन्तरिक तयारी तीव्र बनाएका छन् भने नेतृत्वको दाबेदारी गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
स्थानीय निकाय नेतृत्वविहीन भएको दुई दशकपछि हुन लागेको निर्वाचनमा नेतृत्व लिन आकाङ्क्षी अहिलेदेखि नै टिकटका लागि दौडधुप गरिरहेका छन् । जिल्लामा अहिले चारवटा नगरपालिका छन् । ती नगरपालिकामा नेतृत्वको आकाङ्क्षीको चर्चासँगै चुनावी सरगर्मी बढेको छ ।
इलाम नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका लागि खगेन्द्र देवान, केदार थापा, विष्णु दाहाल, राजेन्द्र शर्मा, निरोज खड्गीलगायतको नाम चर्चामा छ । “यो प्रक्रियामा पार्टीले निर्णय गरिसकेको छैन, अहिले बाहिरी क्षेत्रमा विभिन्न व्यक्तिको नाम आएको छ, आगामी वैशाख पहिलोसातासम्ममा पार्टीले आधिकारिक रूपमा निर्णय गर्छ,” नेपाली काँग्रेस इलामका सभापति हिमालय कर्माचार्यले भने ।
नेकपा (एमाले)बाट महेश बस्नेत, कृष्ण श्रेष्ठ, गणेश राई, धीरेन चेम्जोङलगायतको नाम चर्चामा छ । एमाले जिल्ला सचिव महेश बस्नेतले अहिले नै औपचारिक रूपमा उम्मेदवारको विषयमा कुरा नभएको बताउनुभयो । अनुमानका भरमा मात्रै कसैले नाम चर्चामा ल्याएको उहाँको टिप्पणी छ । यस्तै नेकपा ९माओवादी केन्द्र०बाट प्रवेश शर्माको नाम चर्चामा छ ।
जिल्लाको सबैभन्दा ठूलो सूर्योदय नगरपालिकामा पहिलोपटक जनप्रतिनिधिले नेतृत्व गर्नेछन् । यस नगरपालिकामा नगर प्रमुखमा थुप्रैको नाम चर्चामा छ । काँग्रेसबाट दुर्गा बराल, मणि गुरुङ, प्रेम चाम्लिङ, मिलन क्षेत्री, भीष्म प्रधानलगायतको चर्चा छ । एमालेबाट काजीमान कागते, आरबी राई, सोनम छिरिङ, खिनु लङ्वा लिम्बू चर्चामा छन् ।
यस्तै देउमाई नगरपालिकामा नगर प्रमुखका लागि काँग्रेसबाट गोविन्द गिरी, होम दुलाल, मनकुमार श्रेष्ठ, दिलीप कार्की आदिको नाम चर्चामा छ । एमालेबाट वर्तमान पार्टी अध्यक्ष राम राना, गणेश बराल, सूर्य पोखरेलको चर्चा छ । नेकपा (माओवादी केन्द्र)बाट राम राईको चर्चा छ ।
यसैगरी माई नगरपालिकामा नगर प्रमुखका लागि काँग्रेसबाट विष्णु कार्की, कृष्ण खाकी, राम कार्की, विष्णु घिमिरे, एमालेबाट रत्न अधिकारी, ध्रुव श्रेष्ठ, दीपक थेबेलगायतको चर्चा छ ।
दलहरू नयाँ संरचनाअनुसार पार्टीको संरचना निर्माणमा लागेका छन् । एमालेले आगामी चैत अन्तिम सातासम्ममा उम्मेदवारको टुङ्गो लगाउने पार्टीको जिल्ला उपसचिव उमेश गुरुङ बताउनुहुन्छ । निर्वाचन नजिकिँदै जाँदा दलका कार्यकर्ता मात्र होइन सर्वसाधारण समेत उत्साहित भएका छन् ।

प्रकाशित : १८ चैत्र २०७३, शुक्रबार ००:००