८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

आशंकाबीच दलहरु चुनावको तयारीम



लहान, १७ चैत । स्थानीय तहको निर्वाचनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको आन्दोलनका कारण समयमा निर्वाचन हुने÷नहुने आशंकाबीच सिरहामा तीन ठूला दलले निर्वाचनको आन्तरिक तयारी थालेका छन् ।
मधेसवादी दलहरुको आन्दोलनका कारण यहाँ आगामी वैशाख ३१ गते निर्वाचन हुने वा नहुने आशंका रहेको भएपनि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरुले स्थानीय तहको निर्वाचनको आन्तरिक तयारी थालेका हुन् । काँग्रेस निकट नेपाल महिला सङ्घले केही दिनअघि सिरहाको लहानमा प्रदेश स्तरीय प्रशिक्षण गरेदेखि नै निर्वाचनको तयारी थालेको काँग्रेस सिरहाले चुनाव केन्द्रित गतिविधिलाई गाउँ गाउँसम्म पु¥याइआएको छ ।
काँग्रेसका सिरहा जिल्ला सभापति तथा सांसद रामचन्द्र यादवका अनुसार काँग्रेसले जिल्लाका गाउँपालिका र नगरपालिकाका लागि सम्भावित उम्मेदवारहरुको छनोट, अगुवा कार्यकर्ताहरुको प्रशिक्षक तथा नियमित बैठक र छलफल लगायतका गतिविधि गरिरहेको छ ।
“मधेसवादी दलहरुले यथास्थितिमा हुने निर्वाचनलाई सशक्त रुपमा बहिष्कार गर्ने चेतावनी दिँदै आन्दोलन जारी राखेकाले समयमै निर्वाचन हुने वा नहुने अन्योलका बीच निर्वाचनको तयारी थालेका छौं,” सभापति यादव भन्नुहुन्छ – “निर्वाचन र संगठन सुदृढीकरणलाई लक्ष्य गरी जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा अहिले दिनहुँ नियमित रुपमा बैठक र छलफलमा हुने गरेको छ ।”
एमालेले केही दिनअघि सञ्चालन गरेको मेची–महाकाली अभियान कार्यक्रमको क्रममा सप्तरीमा झडप भएपछि एमालेका नेता कार्यकर्ताले सिरहामा खुलेर निर्वाचनको तयारी गर्न नसकेपनि आन्तरिक रुपमा तयारी भइरहेको एमाले नेताहरु बताउँछन् । एमालेले निर्वाचनलाई लक्ष्य गरी पार्टीको २ नम्बर प्रदेश स्तरीय भेला महोत्तरीको बर्दिवासमा आयोजना गरेपनि सप्तरीको घटना पछि एमालेले सिरहामा कुनै औपचारिक कार्यक्रम गर्न सकेको छैन ।
संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि निर्वाचनलाई लक्ष्य गरी आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनलाई दृष्टिगत गरी एक साताअघि सिरहाको गोलबजारमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको र स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरुको सूची तयारीको सन्दर्भमा बैठक तथा छलफलहरु नियमित रुपमा भइरहेको पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरी बताउँछन्।
“निर्वाचन र सांगठनिक अभियान लिएर गाउँ गाउँका पार्टीका अगुवा नेता र कार्यकर्तासँग नियमित छलफल, अन्तरक्रिया गर्नुका साथै जिल्लाका स्थानीय तहमा उम्मेदवार हुने आकांक्षीहरुको समेत सूची तयार गरिरहेका छौं ।” ठूला तीन दल बाहेक अन्य केही दलले पनि छिटफुट रुपमा आन्तरिक चुनावी तयारी थाले पनि उनीहरुको गतिविधि औपचारिक रुपमा सार्वजनिक हुन सकेको छैन ।
स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्ला प्रहरी कार्यालय सिरहाले म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेपछि सिरहामा आवेदन भर्ने मधेसी युवाको भीड बढेको छ ।
म्यादी प्रहरी भर्नाका लागि आवेदन दर्ता गराउन सदरमुकाम सिरहास्थित जिल्ला प्रहरी कार्यालय सिरहामा दैनिक रुपमा ठूलो भीड लाग्ने गरेको छ ।
स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको भर्नामा युवा वर्गको बढ्दो आकर्षणले पनि आसन्न स्थानीय तहको निर्वाचनको वातावरण बन्दै गएको बुझ्न सकिन्छ । करिब १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी ठूला दलहरु गाउँ गाउँ पुग्न थालेपछि ग्रामीण क्षेत्रमा चुनावको चर्चा परिचर्चा सुरु भएको छ ।
तर पनि मधेसवादी दलहरुको आन्दोलनका कारण जिल्लामा खासै चुनावी माहोल बन्न नसकेको स्थानीय बासिन्दा बताउँछन् । संविधान संशोधन गरी मधेसवादी दलहरुलाई समेत निर्वाचनमा सहभागी गराउन सकिए निर्वाचनको वातावरण सहज रुपमा बन्ने स्थानीय बुद्धिजीवीहरुको विश्वास छ ।
सिरहा जिल्लामा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा तथा मधेसवादी दलहरु गरी ३२ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित : १७ चैत्र २०७३, बिहिबार ००:००