२८ चैत्र २०८०, बुधबार । April 10, 2024

अर्थ

वीरगन्ज नाकाबाट ३९ अर्ब ३६ करोडको इन्धन आयात



पर्सा, १६ चैत । चालु आवको आठ महिनामा वीरगन्ज नाका भएर भारतबाट रु ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपाल भित्रिएको छ ।
सिमावर्ती भारतीय सहर रक्सौल, बरौनी, हल्दिया, मथुरालगायत स्थानबाट सो इन्धन नेपाल आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो । रक्सौल र बरौनी तेल डिपोबाट नेपालका लागि छ लाख ५० हजार २११ किलोलिटर डिजेल, पेट्रोल र मट्टितेल आयात गरिएको छ ।
यस्तै भारतको मथुरा, हल्दियालगायत स्थानबाट एक लाख १४ हजार एक सय १४ मेट्रिक टन खाना पकाउने (एलपिजी) ग्यास आयात भएको पोखरेलले बताएको छ । भारतबाट इन्धन आयात गर्दा रु नौ अर्ब ११ करोड २४ लाख १९ हजार राजस्व सङ्कलन भएको छ ।
वीरगन्ज नाकाबाट चालु आवको फागुनमा मात्र रु छ अर्ब २६ करोड आठ लाख ३७ हजारको ९४ हजार ९५५ किलोलिटर डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टीतेल तथा १३ हजार ८९४ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ । फागुनमा भारतबाट २० हजार ८५ किलोलिटर पेट्रोल, ५९ हजार ८२५ किलोलिटर डिजेल, ७८९ किलोलिटर मट्टीतेल र १४ हजार २५६ किलोलिटर हवाई इन्धन वीरगन्ज नाकाबाट नेपाल भित्रिएको छ । फागुनमा कार्यालयले रु एक अर्ब ३३ करोड एक लाख राजस्व सङ्कलन गरेको छ

प्रकाशित : १६ चैत्र २०७३, बुधबार ००:००